राष्ट्रिय सहमतिको पक्षमा छौँ : नेता नेपाल

madhav_nepal copyगोरखा, २५ वैशाख । एमालेका नेता माधवकुमार नेपालले दलबीच सहमति जुटेमा राष्ट्रिय सरकार गठन गर्न एमाले बाधक नबन्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केपी शर्माओली नेतृत्वको वर्तमान सरकार ढाल्ने खेल खेलेको भन्दै नेता नेपालले सरकार ढल्ने होइन बलियोसँग प्रस्तुत भएको बताए । पुष्पलाल स्मृति प्रतिष्ठान, गोरखा शाखाको शनिबार सदरमुकाममा आयोजित अधिवेशन उद्घाटन गर्दै नेता नेपालले भने, ‘राष्ट्रिय सरकार गठन गर्न एमाले बाधक होइन सहयोगी हो । यही सरकारले नीति तथा कार्यक्रम ल्याउँछ, ढुक्क हुनुहोस् बजेट ल्याउँछ ।’ एमाले राजनीतिको पुरानो खेलाडी भएको भन्दै नेपालले कांग्रेसले सरकार ढाल्ने खेल खेल्दैमा यो सरकार नढल्ने बताए ।

सरकार ढल्ने भो भन्दै कांग्रेसले भोजभतेर गरेको, ह्विस्कीका बोतल फुटाएको र मारुनी नाच नाचेको नेता नेपालको आरोप छ । जारी भएको संविधान ठूलो उपलब्धि भएको भन्दै उनले एमालेले चाहेजस्तो संविधान बनाउन नसकिएको बताए । ‘अस्थिरताको कारक तल्लो सदनमा समानुपातिक प्रणाली राख्नु हो’ उनले भने । राजनीतिक क्रान्ति पूरा भएको भन्दै नेता नेपालले आर्थिक क्रान्तिका लागि राजनीति गर्नुपर्ने बताए । कुराभन्दा काम धेरै गर्नुपर्ने बताउँदै उनले व्यक्तिवाद, भ्रष्टाचार, गैरराजनीतिक प्रवृत्ति, स्वार्थका लागि गुटबन्दी गर्दा नेपाललगायत विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताए ।

‘बाबुराम भट्टराईले गोरखा पार लगाउन सकेनन्’ उनले भने, ‘अब एमालेले गोरखाको विकास गर्छ । जनताले अरुलाई भन्दा एमालेलाई विश्वास गर्छन् ।’ कम्युनिष्ट नेताले धर्म नमाने पनि जनताले धर्म मान्ने भएकाले मठमन्दिर भत्काउन नहुने उनको भनाइ थियो । कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामशरण बस्नेत, जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष विश्वेश्वर कट्टेललगायतले आउँदो निर्वाचनमा एमालेलाई गोरखाको पहिलो पार्टी बनाउने गरी अभियान सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया