बलात्कृत किशोरीको आर्तनाद् : नागरिकताबाट बाबुको नाम हटाइ पाऊँ

balakrit ktकाठमाडौं, १९ वैशाख । ‘२ वर्षसम्म मलाई बलात्कार गर्ने बाबुको नाम नागरितामा हेर्नुपर्दा साह्रै पीडा हुन्छ । उसको नाम मसँग कहीँकतै नजोडियोस् भन्ने चाहन्छु ।’ २ वर्ष पहिला आफ्नै बाबुबाट बलात्कृत किशोरीले भावुक हुँदै भनिन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रक्षा नेपाल नामक गैरसरकारी संस्थाको कार्यक्रममा पीडित मीराले आफ्ना पीडा सुनाउँदै गर्दा कार्यक्रमका प्रमुखअतिथि सिडिओ रामकृष्ण सुवेदी निकै भावुक बने । कार्यक्रममा अधिकांश महिलाको आँखाबाट आँसु बगिरहेको थियो । मीराको आवाजबाहेक पूरै हलमा सन्नाटा छाएको थियो ।

बेलाबेला गला अवरुद्ध पार्दै मीराले भनिन्, ‘म जन्म दिने आमाको नाम पनि लिन चाहन्नँ, बाबुले मेरो अस्मिता लुट्दा आमा उनै नरपिचाश पतिको साथमा लागिन् । नाताले मेरो लागि आमाभन्दा नजिकको कोही थिएन, उनले पक्कै साथ देलिन् भनेर आफ्ना पीडा उनलाई सुनाएँ । तर, ती त मलाई जन्माउने मात्र आमा रहिछन् । सुनेको थिएँ हरेक आमाले आफ्ना सन्तानको रक्षा गर्छन् । मेरो आमा त मेरो अस्मिता लुट्ने अपराधीको रक्षक पो बनिन् ।’

पीडित किशोरी यतिबेला रक्षा नेपालको सहयोगमा ११ कक्षामा पढ्दै छिन् । उतिबेला बाबुको अपराधिक हिंसाबाट मुक्ति पाउन उनले रोजेको बाटो पूरा भएको भए उनी यस दुनियाँमा रहने थिइनन् । आत्महत्याको प्रयास असफल भएपछि उनी हिजोआज संघर्ष गर्दै छिन्, कुशल स्त्री रोग विशेषज्ञ बन्ने सपना बुनेर । उनले कार्यक्रमका प्रमुखअतिथितिर संकेत गर्दै भनिन् । ‘मलाई बर्बाद बनाउने र मुत्युको मुखसम्म पुग्न वाध्य पार्ने पिचास कथित बाबुको नाम मेरो नागरितामा छ । मलाई उसको नामले सधैँ पोलिरहन्छ, केही गर्न सक्नुहुन्छ भने सो नागरिकताबाट त्यो अपराधीको नाम हटाइदिनूस् ।’

विश्वभरिका श्रमिकहरूले समान कामको समान ज्याला र अधिकार मागिरहँदा उनकोे माग फरक थियो । उनी आफ्नै बाबु र आमाबाट प्राताडित भएका आर्तनाद् सुनाएर अरूका आखाँबाट झरी पार्दै थिइन् । उनी नागरिताबाट बाबुको नाम हटाई पाऊँ भन्दै थिइन् । सबैभन्दा नजिकको नाता बाबुआमाबाटै प्राताडित उनी एउटा कुरामा भने खुसी देखिइन् । उनको अस्मिता लुट्ने उनको बाबु भनाउँदो यस दुनियाँमा छैन । लोकलाज र कानुनी कारवाहीको डरले उनले आत्महत्या गरी सके । आफ्ना भनाइ पूरा गर्नासाथ उनी एक्कासी रक्षा नेपालका अध्यक्ष मेनुका थापाको अँगालोमा बेरिएर लामोसमय हिक्क, हिक्क गर्दै थिइन् ।

कार्यक्रमको बीचबीचमा नाचगान पनि राखिएको थियो । पीडित किशोरीले पनि एउटा गीतमा नृत्य प्रस्तुत गरिन् ।

‘मलाइ मेरो जिन्दगीले कहाँ पु¥यायो,
कहिले हँसायो कहिले रुवायो ।

आफैँसँग छुटाएर एक्लै बनायो उनको जीवनमा ठ्याक्कै मेलखाने सो गीतमा उनले नृत्य गरिरहँदा हलमा रहेका कसैका आँखा ओभाना रहेनन् । उनी पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेकी रक्षा नेपालले जनाएको छ । उनी दाताहरूको सहयोगमा अध्ययन गर्दैछिन् ।

मजदुर दिवस पारेर गरिएको सो कार्यक्रममा सिडिओ रामकृष्ण सुवेदी, महिला विकास अधिकृत अनिता शाह, अनेरास्ववियुको अध्यक्ष नविना लामा, २०१३ की मिस नेपाल रजनी थापालगायतले पीडित किशारीकोे सहासको प्रशंसा गरेका थिए । कार्यक्रममा संस्थाले ५ महिला मजदुुरलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा रत्ना लामा, केशरीकुमारी दहाल, सुनिता महर्जन, सावित्री पुडासैनी र राधा गिरी छन् । उनीहरूलाई सिडिओ सुवेदीले सम्मानपत्रको साथै जनही ५ हजार प्रदान गरेका थिए ।

प्रतिक्रिया