१३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

उदयपुर १७ वैशाख । उदयपुरको बेल्टार बसाहा नगरपालिकाकी १३ वर्षीया बालिका बलत्कारको आरोपमा आफ्नै बाबु र अर्का १ छिमेकी पक्राउ परेका छन् । स्थानीय स्कुलमा कक्षा ६ मा अध्ययनरत बालिकालाई आफन्तबाटै पटकपटक बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले बिहीबार पक्राउ गरेको हो ।

बालिकाकी बाबु, दाई नाता पर्ने छिमेकी र आफ्नै मामाले ६ महिना अघिदेखि डर देखाएर जबर्जस्ती गर्ने गरेको पीडितकी सँगै पढ्ने साथीकी आमाले स्थानीय संस्थालाई खबर गरेपछि स्थानीय संस्थाले प्रहरीलाई दिएको उजुरीको आधारमा बाबु र छिमेकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए ।

उनले भने ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पदार्थ सेवन गरी छोरीलाईलाई जबर्जस्ती गरेको त्यसपछि मामा घरमा जाँदा मामाले नै जबर्जस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलात्कार गर्ने गरेको जाहेरी आएको छ ।’

आरोपी बाबु र छिमेकी दाइलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ भने मामाचाहिँ रोजगारीको क्रममा जिल्ला बाहिर रहेको बुझिएकाले पक्राउ गरिने प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार अबेर आरोपीहरू पक्राउ गरिएकोले शुक्रबार मुद्दा दर्ता गरी अनुसन्धान गरिनेछ ।

प्रतिक्रिया