जाजरकोटमा अफिम खेती नष्ट

aafimजाजरकोट, १७ वैशाख । जाजरकोटमा विगत केही वर्षदेखि अवैध रूपमा गर्दै आएको अफिम खेती जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरी टोलीले नष्ट गरेको छ । ग्रामीण भेगमा जनचेतनाको अभाव तथा रोजगारीका अभावका कारण समस्या टार्न यहाँ अफिम खेती हुँदै आएको थियो ।

बेरोजगारी समस्या शिक्षा स्वास्थ्य खानेपानी को अभाव जनचेतनाको कमी आदि समस्यासँग जुधेर जीवनयापन गरिरहेका जाजरकोट जिल्लाका अधिकांश ग्रामीण जनताहरू विकासको नाम मात्र सुनेका छन्, अनुभव भने गरेका छैनन् । त्यसैको परिणामा स्वरूप केही दलालले आफ्नो फाइदाका लागि तीनै निमुखा जाजरकोटी गाउँले जनतालाई प्रयोग गरिरहेका हुन् । जाजरकोट जिल्लाको पूर्वी गाविस खगेनकोट–७ को गराइला र बसुन्धरा–८ को झांक्रीगोठ र ९ को मंसिरी, दयारी, बयाल्ले भरगाउँलगायत ६० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरिएको हो ।

१ रोपनी पाखो जग्गामा लगाएको खेतीबाट १ किलो अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । १ किलो अफिमको मूल्य बारीमै ७० हजारसम्म दिने गरेको प्रहरीले बताइएको छ । गाउँलेलाई उक्त अफिमको दाना तेलको रूपमा प्रयोग हुन्छ भनी ढाँटी खेती गर्न लगाएको स्थानीयवासीको भनाइ रहेको छ भने प्रहरी टोली उक्त स्थानमा पुग्नु केही दिन अगावै मुख्य व्यक्ति भागेको प्रहरीले जनाएको छ । अफिम खेतीको बारे आफूलाई जानकारी नै नभएको र झुक्याइएर खेती गर्न लगाएको र आगामि दिनमा उक्त खेती नगर्ने स्थानीयवासीको भनाइ रहेको छ ।

पछिल्लो चरणमा जाजरकोटको पूर्वीक्षेत्र भगवती–६ थम्दा, वडा नं ७ धाउना धरचौर, कालापानी– ८ र ९ का केही गाउँ गरी जम्मा १ सय ३५ रोपनी जग्गाको अफिम खेती जिल्ला प्रहरी कार्यालय जाजरकोट को टोली १३ वैशाखदेखि १६ गतेसम्मको अवधिमा नष्ट गरेको छ । खटिएको प्रहरी टोलीले स्थानीयवासीलाई उक्त निषेधित अफिम खेती बारे जनचेतना फैलाइएको प्रहरी निरीक्षक हिक्मत बोहोराले जानकारी दिएका छन् ।

जिल्लाका अन्य गाविसहरूमा पनि खेती गरीएको र बाँकी सबै ठाउँमा नष्ट गर्ने प्रहरीले जनाएको छ । छिमेकी जिल्ला रुकुममा गतवर्ष प्रहरीले करोडौँ मूल्यको अफिम खेती नष्ट गरेको थियो । जाजरकोट जिल्लाका अन्य स्थानमा पनि अफिम खेती गरिएको हुनसक्ने र चाँडै नष्ट गर्ने प्रहरीले जनाएको छ । लागुऔषधसम्बन्धी विभिन्न निकायहरूले सदरमुकाममा मात्र जनचेतनामूलक कार्यक्रम गरेको भए पनि दुर्गम गाउँ बस्तीमा भनै कहिल्यै भएन स्थानीय चरेस र भाङ लागुऔषध हो भन्ने थाहा पाए पनि अन्य बहुमूल्य लागुऔषध बारे जानकारी भने छैन । जिल्लाको पश्चिमी गाविसका गाउँहरूमा पनि अफिम खेती गरिएको हुन सक्ने र चाँडै प्रहरी टोली खटाइने प्रवक्ता बोहोराले बताए ।

प्रतिक्रिया