काठमाडौं, १७ वैशाख । सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याएवापत सुनसरीस्थित धरान उपमहानगरपालिकास्थित ब्राह्मण समाजलाई ‘मोतीदेवी स्मृति सम्मान’ प्रदान गरिएको छ । गत फागुनमा ब्राह्मण वटुकसँगै दलित वटुकलाई समेत समावेश गरी सामूहिक व्रतबन्ध गराएर सामाजिक विभेद अन्त्य गर्न योगदान पु¥याएबापत मोतीदेवी स्मृति केन्द्रले सो सम्मान दिएको हो ।
सो अवसरमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लैंगिक, भाषिक र जातीय असमानता हटाउन गरिएका घोषणा नयाँ संविधानले संस्थागत गरेको र अब विभेदमा पारिएका वर्ग र समुदाय झन् बलिया भएको उल्लेख गरे । लोकतान्त्रिक, प्रगतिशील र समाजवादतर्फ उन्मुख वर्तमान संविधानले परिवर्तनका सबै ढोका खुला राखेको छ भन्दै पूर्वप्रधानमन्त्री खनालले संविधानलाई पूर्णता दिन अब स्थानीय निकायदेखि राष्ट्रियस्तरको निर्वाचन, तीनखम्बे अर्थनीति कार्यान्वयन र नयाँ सांस्कृतिक तथा सामाजिक व्यवस्था भएको समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।
सम्मानित संस्थाका अध्यक्ष उद्धवप्रसाद अधिकारीले सामाजिक रुपान्तरण र सामाजिक सेवा गर्दै आएको आफ्नो संस्थाले दलित वटुकलाई पनि समावेश गरी सामूहिक व्रतबन्ध गराउनु तथा सहभोजको आयोजना गर्नु चुनौतीपूर्ण थियो भने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्यालले सामाजिक रुपान्तरणको अभियान आफैँबाट प्रारम्भ गर्नुपर्ने बताइन् । एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले अब पनि छुवाछुत जस्तो सामाजिक कलंक लिएर बस्न नहुने उल्लेख गर्दै गैरदलित वर्गले नै यस्ता असमानता हटाउन पहल गर्नुपर्नेमा जोड दिए ।
मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले गत १४ फागुनमा प्रकाशित ब्राह्मण वटुकसँगै दलित बटुकसमेतको सामूहिक व्रतबन्धसम्बन्धी प्रकाशित समाचारबारे छानबिन गररेर सो संस्थालाई सम्मान गरिएको जानकारी दिइन् ।
प्रतिक्रिया