कम्युनिस्टहरू वीचको एकता र ध्रुवीकरणको सवाल यतिवेला निकै चर्चामा छ । त्यसैगरी अहिले माओवादी आन्दोलनको पुनर्गठन र समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्बन्धमा समेत व्यापक बहस, छलफल र अन्तरक्रियाहरू भैरहेको छन् । विशेषत यो बहसले क्रान्तिकारी कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच गरमागरम रूप लिइरहेको पाइन्छ । यसमा धेरैलाई खुलदुली लागेको र चासो परेको सवाल हो– एकता कोेसँग ? किन ? के आधारमा ? कसरी गर्न सकिन्छ वा गर्नुपर्छ र त्यस सन्दर्भमा के–कस्ता कार्यहरू भैरहेका छन् ?
यसरी एकता र ध्रुवीकरणको हल्लाखल्ला बढ्न थालेपछि वामपन्थि झुकाव राख्ने सबै सरोकारवालाले सबै कम्युनिस्टहरू एक भैदिए हुन्थ्योे भनि सकारात्मक परिणामको अपेक्षा गर्नु स्वाभाविक छ । र, त्यो भैरहेको पनि छ । तर, अहिलेसम्म नेपालमा कार्यरत कम्युनिस्ट पार्टीहरूको हसिया हथौडा अंकित झण्डा मात्रै साझा छ । सिद्घान्ततः उनीहरू फरक–फरक (दुई) धारमा र परिणमतः डेढ दर्जनभन्दा बढी संख्यामा विभाजित छन् । करिब डेढ दर्जनको हाराहारीमा छरिएर रहेका नेपालका कम्युनिस्ट पार्टी तथा समूहले जतिसुकै ठूलो अक्षरमा लेखे वा स्वरमा डुक्राए पनि उनीहरू सिद्घान्ततः दुई धारमा विभाजित रहेका छन् । त्यसमध्यको एउट धार हो–सुधारवादी संसदीय धार र अर्को हो बल प्रयोगको सिद्घान्त अनिवार्य ठान्ने धार ।
सुधारवादी संसदीय धारका कम्युनिस्टहरू मुख्यतः चुनावी राजनीतिमा केन्द्रित हुने, हल्का खानपीन गर्ने, अलिअलि विकासे र सुधारका कामहरू गर्दै जाने, वर्गसमन्वयकारी कार्यदिशा र उपभोक्तावादी संस्कृतिको विकास गर्दै कार्यकर्तामा रहेको क्रान्तिप्रतिको आकर्षणलाई मन्दविष पिलाई त्यसको तेजोबोध गराउने आदि कुरामा केन्द्रीत देखिन्छन् ।
बल प्रयोगको सिद्घान्तलाई अनिवार्य ठान्ने धारका कम्युनिस्टहरू मुख्यतः नयाँ जनवादी क्रान्तिका लागि बल प्रयोगको सिद्घान्तलाई अपरिहार्य ठान्ने, नयाँ जनवादी क्रान्तिद्वारा समाजको आमूल परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्ने, सर्वहारा अधिनायकत्व स्वीकार गर्ने, जनवादी केन्द्रीयतालाई आत्मसाथ गर्ने आदि कुरामा केन्द्रित देखिन्छन् ।
सिद्घान्ततः नेपाली कम्युनिस्ट आन्दोलन यिनै दुई धारमा विभाजित रहेको भएता पनि हाल दर्जनौँको संख्यामा पार्टी तथा समूहगत झुन्ड बनाइ क्रियाशील रहेका छन् । यस्तो किन भैरहेको छ त ? के एउटै सैद्घान्तिक लाइनका फरक–फरक पार्टी एकै स्थान र समयमा रहन वा बढ्न सक्छ ? विल्कुल सक्दैन । फेरि प्रश्न उठ्न सक्छ, त्सोभए एउटै सैद्घान्तिक धारमा यतिका धेरै पार्टी बनेचाही किन र कसरी ?
साँच्चिकै भन्नुपर्दा नेपाली समाज सामन्ती सोच, चिन्तन र व्यवहारबाट एकदमै ग्रस्त रहेको पाइन्छ । त्यसबाट नेपाली कम्युनिस्ट आन्दोलनका नेता–कार्यकर्तासमेत अछुतो छैनन् । तसर्थ धेरैलाई राम्रो र असल मान्छे बन्नेभन्दा पनि ठूलोमान्छे कसरी बन्ने र रवाफयुक्त जीवन कसरी जिउने भन्ने चिन्तन प्रशस्त मात्रामा पाइन्छ । सामन्तवादी सोच, चिन्तन र व्यवहारले ग्रस्त नेता–कार्यकर्ता भएपछि परिणाम त्यसप्रकारको आउनु स्वाभाविक नै हो । साथै कतिपय झुन्डको उदय एकाध व्यक्तिलाई नेता हुने रहर जागेपछि भएका छन् । तथापि सिद्घान्तको हल्का टालटुले खोल ओढाएर आफू फरक भएको डंका पिट्दै स–सानो झुन्ड बनाई हिड्नेहरू पनि प्रशस्तै छन् । त्यसैको परिणाम स्वरूप २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टी आज झन्डै डेढ दर्जनको संख्यामा पुगेको हो भन्दा अतिसयोक्ति नहोला ।
यसर्थ के कुरा स्पष्टसाथ भन्न सकिन्छ भने अहिले नेपालमा जतिसुकै कम्युनिस्ट पार्टी तथा समूहको उदय भएको भएता पनि सिद्घान्ततः उनीहरू मूख्य दुई धार– सुधारवादी संसदीय धार र बलप्रयोगको सिद्घान्तलाई स्वीकर गर्ने धारमा विभाजित रहेका छन् । र, यो स्वाभाविक छ ।
क्रान्ति र पविर्तनलाई केन्द्रविन्दुमा राखेर एकता र ध्रुवीकरणको दायरालाई समेत एकदमै फराकिलो बनाउनुपर्छ । जसले विभिन्न धारमा विभाजित नेपाली कम्युनिस्ट आन्दोलनलाई सैद्घान्तिक लाइनअनुसार नै दुईवटा ध्रुव निर्माण गर्न सहयोग पु¥याउनुपर्दछ । क्रान्तिकारी शक्तिलाई विभाजित गरी कमजोर पार्ने र पविर्तनको गतिलाई धिमा बनाउने खेलमा यथास्थितिवादी, प्रतिक्रियावादी, दलाल नोकरशहीतन्त्र र विस्तारवादी एवं साम्राज्यवादी शक्तिकेन्द्र एकगठ भएर लागिरहेका छन् । र, तिनीहरू कम्युनिस्ट भनिएकाहरूकै मुखद्वारा क्रान्तिकारीहरूलाई नै दिग्भ्रमित पार्ने गरी फलाक्न लगाइरहेका छन् ।
बरु माओवादीहरूको मात्रै केन्द्र बनाऔँ । भ्mवाट्ट सुन्दा ठिकै जस्तो लाग्ने र भावनात्मक पक्ष प्रवल बनेर आउने माओवादीहरूको केन्द्र बनाऔँ भन्ने यो सवालले निकै गम्भीर अर्थ राख्दछ । सिद्घान्तनिष्ठ एकता र ध्रुवीकरणको महान अभियानलाई परिणाम दिँदै भेडा भेडासँग र बाख्रा बाख्रासँग भने झैै कित्ताकाट गर्नुपर्ने बेलामा केवल भावनात्मक पक्षलाई मात्रै आधार बनाएर हिजोका माओवादीहरू बीचको एकताको कुरा गर्दा यतिबेला को कहाँ कसरी अगाडि बढिरहेको छ भन्ने कुरालाई समेत हेर्नुपर्ने हुन्छ ।
हिजो माओवादी आन्दोनमा लागेका नेताहरू आज सुधारवादी संसदीय प्रणालीदेखि बुर्जुवा व्यवस्थासम्मको वकालत गर्ने भइसकेका छन् । विगत र वर्तमानको समग्र समीक्षाले आगामी दिनको मार्गचित्र कोर्नलाई सहयोग पुग्छ भन्ने सामान्य सिद्घान्तलाई स्वीकार गर्ने हो भने पनि उनीहरूको त वर्तमान नै विपरित दिशातर्फ तेर्सिसकेको अवस्था छ । अनि कसरी हुनसक्छ सबै पूर्वमाओवादीहरूको एउटै केन्द्र । केवल भावानमा टेकेर क्रान्तिकारी पार्टी वा शक्ति निर्माण हुनै सक्दैन । यसप्रकारको विपरीत कार्यदिशा बोकेर हिडेका पार्टी तथा समूहहरूबीचको एकता र ध्रुवीकरणको हौवाले सैद्घान्तिक रूपले एक ठाउँमा रहेका पार्टी तथा समूहवीचको एकता र ध्रुवीकरणलाई नै रोक्ने काम गर्दछ ।
सुधारवादी संसदीय लाइनमा केन्द्रित रहेका केही नेताहरू भन्दैछन्, ‘माओवादी आन्दोलन पुनर्गठन हुन सकेन भने संविधान लगायतका कार्यान्वयन हुन बाँकी एजेन्डा अलपत्र पर्छन् वा विरोधीले खोसेर त्यसको दुरूपयोग गर्छन । त्यसकारण माओवादीहरू जहाँ जेजस्तो अवस्थामा छौँ, एकै ठाउँमा हुनपर्छ ।’ त्यसैगरी उनीहरूको अर्को के दृष्टिकोण छ भने, विचार सिद्धान्तबारे आन्तरिक छलफल गर्दै जाउला, तर माओवादीहरू बीचको एकता जसरी पनि हुनुप¥यो । यो नै आजको वस्तुगत आवश्यकता हो ।’ कतिपयले यसलाई क्रान्तिकारी कम्युनिस्टहरू बीचको एकता र ध्रुवीकरणको विषयका रूपमा बहसमा ल्याएका छन् । भ्mवाट सुन्दा र बोल्दा उस्तैउस्तै लागे पनि यहाँ विचारणीय कुरा के छ भने बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्ने क्रान्तिकारी कम्युनिस्टहरू र सुधारवादी संसदीय बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्ने कम्युनिस्ट बीचको बृहत्तर अन्तरविरोधलाई गोलामाटोल गर्दै आम कार्यकर्ताहरूमा झुक्याउन खोजेको प्रष्ट हुन्छ ।
यसर्थ उनीहरूले केवल माओवादीहरू वीचमा एकताको कुरा नबुझेर वा नजानेर उठाएका छैनन । एकदमै षडयन्त्रपूर्वक र दुरासययुक्त नियतसहित उठाएको देखिन्छ । यसरी देशीविदेशी प्रतिक्रियावादी तत्व र तिनीहरूद्वारा पालित पोषित प्रतिनिधिपात्रहरू समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन गरी सिद्घान्तनिष्ठताको आधारमा दुई कित्तामा कित्ताकाट हुन नदिने खेलमा लागिरहेका छन् । त्यसप्रकारको कार्यले परिणामतः सुधारवादी संसदीय धारका पार्टी तथा समूह र क्रान्तिकारी धारका पार्टी तथा समूह दुवैमा गोल्मटोल अवस्था सृजना भैरहन्छ । यसबाट सुधारवादी संसदीय धारका पार्टी तथा समूहमा रहेका क्रान्तिकारीहरू त्यतै हराइरहन र क्रान्तिकारी धारका पार्टी तथा समूहमा जरो गाढेर बसेका कथित क्रान्तिकारी तत्वले पार्टीभित्र एकपछि अर्को बखेडा खडागरी गतिलिनै नदिने खेल जारी रहन्छ ।
तर सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको अगाडि त्यसप्रकारको जाल, झेल र षडयन्त्रहरूलाई चिर्दै आप्mनो लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढ्नुको कुनै विकल्प हुँदैन । क्रान्तिकारीहरूको निरन्तरको अविचलित प्रयासबाट मात्रै समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्भव छ । त्यसप्रकारको पुनर्गठनले मात्रै सुधारवादी धार र क्रान्तिकारी धारको बीचमा पूर्णरूपमा कित्ताकाट गर्नेछ । यसबाट कतिपय अलमलमा परेका र दोधारमा रहेका व्यक्ति तथा समूहहरू समेतलाई दुईमध्ये कुनै एक कित्तामा उभिदै यो महान अभियानमा जोडिनुपर्ने बाध्यात्मक अवस्थाको सृजना हुनेछ ।
यसर्थ सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूले बुझनु पर्ने कुरा के हो भने माओवादी आन्दोलनभित्र देखिएको गम्भीर सैद्धान्तिक भड्काव र उपभोक्तावादी प्रवृत्तिले अहिले समग्र आन्दोलन नै वद्नाम बन्दै गैरहेको विद्यमान अवस्थामा माओवादी आन्दोलनभित्र रहेका समगमा सिद्धान्ततः क्रान्तिकारी र व्यवहारतः इमान्दार नेता–कार्यकर्ताहरू र अन्य विभिन्न पार्टी तथा समूहमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरू बीचको एकता र ध्रुवीकरणबिना एउट सशक्त, जुझारु अनि क्रान्तिकारी पार्टी निर्माण हुनै सक्दैन । अनि क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति वा परिवर्तन सम्भव छैन । त्यसकारण बलप्रयोगको सिद्घान्त स्वीकार गर्ने जनवादी क्रान्तिका पक्षधर हरेक व्यक्ति तथा समूहहरूको बीचमा एकता र ध्रुवीकरण गरी एउट सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जुटौँ ।
प्रतिक्रिया