सशस्त्र महानिरीक्षकमा दुर्जकुमार राई

Durja-Kumar-Raiकाठमाडौं, १४ वैशाख । सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सरकारले कायममुकायम महानिरिक्षक दुर्जकुमार राईलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राईलाई महानिरिक्षक पदमा नियुक्त गरेको हो ।

सशस्त्रका तत्कालिन महानिरीक्षक कोषराज वन्त भ्रष्टाचारको मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि मन्त्रिपरिषद्ले राईलाई गत ४ पुुमा सशस्त्र प्रहरी बलको कायम मुकायम प्रमुखको जिम्मेवारी तोकेको थियो । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ब्याजी राई ०७४ साल ३ असारमा अवकाश हुनेछन् । ०५७ सालमा गठित सशस्त्र प्रहरी बलमा राई नेपाल प्रहरीबाट एसपी पदमा स्थानान्तरण भएका थिए ।

०६२÷६३ को जनआन्दोलन दमन गरेको अभियोगमा निलम्बनमा परेका राइ निलम्बन बाट सफाइ पाएपछि डिआइजीमा बढुवा भएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्रका महानिरीक्षक कोषराज वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि राईले गत पुस ३ गते कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका थिए ।

भोजपुर दिल्पा कात्तिके नागी ४मा रणबहादुर राई र धनदिपा राईको कोखमा १ मंसिर ०१८ मा जन्मिएका दुर्जकुमार राईले एमएसम्म अध्ययन गरेका छन् । सशस्त्र प्रहरीको महानिरीक्षक बनेका राई अन्तराष्ट्रिय स्तरको भलिबल खेलाडी समेत थिए । राईले प्रहरी अधिकृत विशेष तालिम, प्रहरी प्रशिक्षक कोर्ष, सामान्य प्रहरी प्रशासन, लागूऔषध नियन्त्रण, विशेष सश्त्र तथा युद्धकला लगायत स्वदेश तथा विदेशमा गरी विभिन्न १५ वटा व्यावसायीक तालिम हासिल गरेका छन् । यी मध्ये पाँच वटा तालिमहरू युएसए, बंगलादेश, भारत र चीनमा लिएको सशस्त्र प्रहरी बल हल्चोकले जनाएको छ ।

यसैगरी युएन मिसन डार्फर, हाइटी र कम्बोडिया मिसनमा कन्टीन्जेन्ट कमाण्डरको रूपमा जिम्मेवारी निर्वाह गरेका छन् । युएसए, जापान, कोरिया, कम्बोडिया, सुडान, चिन, हाइटी, बंगलादेश, भारत लगायत युरोपका अधिकांस राष्ट्रहरूको भ्रमण गरेका छन् । उनले सुप्रबल जनसेवा श्री (तृतीय), तेश्रो सार्क स्मृति, दुर्गम सेवा पदक लगायतका विभिन्न १४ वटा मानपदवी, अलंकार, पदकहरूबाट पाएका छन् । यसैगरी व्यावसायिक जिम्मेवारी निर्वाहकको क्रममा कार्यक्षेत्रमा उकृष्ट कार्य गरे वापत राईले एकपटक तीन ग्रेड थप, अर्को एकपटक एक ग्रेड थप र दुई पटक नगद पुरस्कार तथा बिभिन्न प्रशंसापत्रहरू पाएका छन् ।

राईसँग सशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रशासन विभाग, मानवश्रोत विकास विभाग, सीमा सुरक्षा विभाग लगायत सशस्त्र प्रहरी बलका बाहिनी, गण, तालिम केन्द्र भालुवाङ लगायतको कार्यालयहरूमा प्रमुख भई कार्य गरेको अनुभव छ । यसैगरी विभिन्न जिल्ला प्रहरी कार्यालय तथा क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर लगायतका कार्यालयहरूको प्रमुख भएर पनि उनले जिम्मेवारी पूरा गरेका छन् ।

प्रतिक्रिया