काठमाडौं, १३ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पूर्णरूपमा घर क्षति भएका ११ जिल्लाका ३ सय ८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ । तथ्यांक संकलन गरी अनुदान पाउनयोग्य ३ लाख ९ सय ६१ घरधनीको सूची भूकम्प गएको १ वर्ष पुगेकै मितिमा सार्वजनिक भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार अनुदान पाउनयोग्य घरधनीको संख्या ओखलढुंगामा १५ हजार ५, सिन्धुलीमा २१ हजार १ सय १४, रामेछापमा ३० हजार ५ सय १९, दोलखामा ४९ हजार ७ सय ५१, सिन्धुपाल्चोकमा ३५ हजार ३ सय ८, काभे्रपलाञ्चोकमा ४० हजार २ सय ६४, नुवाकोटमा ३८ हजार २ सय ३५, रसुवामा ५ हजार ४ सय १७, धादिङमा २३ हजार ४ सय ४०, मकवानपुरमा ७ हजार ४ सय १२ र गोरखामा ३४ हजार ४ सय ९६ छ ।
तथ्यांक संकलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ । गत वर्ष १२ र २९ वैशाखको भूकम्प एवं पटकपटकको परकम्पले करिब ८ लाख घर पूर्णरूपमा क्षति भएको थियो । अनुदान सम्झौता भएपछि सरकारले ३ किस्तामा क्रमशः ५० हजार, ८० हजार र ७० हजार गरी २ लाख भूकम्पपीडितलाई रकम वितरण गर्नेछ ।
प्रतिक्रिया