टेलिकम सुधार मार्गचित्र प्रस्तुत

NepalTelecomकाठमाडौं, ८ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बुधबार सुधारको मार्गचित्र पेस गरेको छ । कम्पनीले आफ्ना अगामी दिनका योजना समय तालिकासहित पेस गरेको हो । सूचना तथा सञ्चारमन्त्री शेरधन राई, टेलिकमका अध्यक्ष दिनेशकुमार थपलियालगायत अन्य कर्मचारीको उपस्थितिमा टेलिकमका प्रबन्धनिर्देशक बुद्धिप्रसाद आर्चायले सो मार्गचित्र पेस गरेका हुन् । टेलिकमले गुणस्तर प्रभावकारी बनाउने, सेवा विस्तार, नयाँ प्रविधिको प्रयोग गर्दै कम्पनीलाई अघि बढाउनुपर्ने सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।

टेलिकमलाई नम्बर एक कम्पनी बनाउन सबैले आफ्नो इच्छा शक्ति परिवर्तन गरेर कम्पनीलाई उचाइमा पु¥याउन लाग्नुपर्ने र समस्याको पहिचान गरी छिटोभन्दा छिटो समस्या समाधान गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो । आफूहरूले सुरुआत गरेको यो प्रयास नयाँ प्रयोग हुनसक्ने र यसलाई सबै मिलेर सफल बनाउनुपर्नेमा आफूहरूको जोड भएको उनले बताए । ‘कुनै पनि काम गर्दा नतिजामूखी भएर गर्नुपर्छ र जसरी नेपाल टेलिकमले पछिल्लो समयमा विभिन्न समस्याका बावजुद पनि आफूलाई यस स्थानमा पु¥याउन सफल भएको छ, त्यसैगरी आगामी दिनमा पनि कम्पनीले यस्तै उल्लेखनीय कार्य गर्दै अघि बढ्नुपर्छ,’ मन्त्री राईले भने ।

मार्गचित्रमा उल्लेख भएअनुसार फो जी नियामक निकायबाट अनुमति प्राप्त भए लगत्तै तीव्र गतिमा सर्वप्रथम महानगरपालिका र उपमहानगरपालिकामा फो जी र अन्य स्थानमा थ्री जी सेवा विस्तार गरिनेछ । टेलिकमले नयाँ ठाउँमा र टु जी भएका ठाउँमा थ्री जी सेवा बनाउने तयारी गरिरहेको प्रवन्ध निर्देशक आर्चायले बताए ।

रिचार्ज सुविधा थप प्रभावकारी बनाउन, उपभोक्तालाई सहजै सिमकार्ड उपलब्ध गराउन, सबै टेलिकम कार्यलयमा सौर्य उर्जा प्रणाली सुरु गर्न आफूहरूले छलफल गरिरहेको पनि उनले जानकारी दिए । नीतिगत र कानुनी संरचनामा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

टेलिकमका अध्यक्ष दिनेशकुमार थपलियाले भने अहिलेसम्म पनि ग्राहकले चाहे अनुसारको सेवा पाउन नसकेको बताए । ‘अहिले पनि ग्राहकले खोजेजस्तो सुविधा दिन सकिरहेको छैन । किन सेवा प्रदान गर्नमा टेलिकमलाई समस्या भएको छ भन्ने विषयमा खोजतलास गरिरहेका छौँ र भएका समस्याको छिटोभन्दाछिटो समाधान गर्न हामी लागिपरेका छौँ,’ उनले भने । नेपालमा रहेका ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीको तुलनामा नेपाल टेलिकम एक्लैले ५० प्रतिशत सेवा दिएर सराहनीय कार्य गरिरहेको पनि उनले बताए । ‘समस्या त सबै ठाउँमा हुन्छ । समस्या भयो भन्दैमा चुप लागेर बस्नुभन्दा उक्त समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ,’ अध्यक्ष थपलियाले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष थपलियाले प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी योजना, ग्राहकको कलबाट प्राप्त भएको रकमको केही प्रतिशत ग्राहककै नामबाट विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव अघि सारेको बताए । आगामी दिनमा कार्यतालिका अनुसार सम्पूर्ण कार्य गर्ने र यदि कुनै कार्य समयमा नभएको खण्डमा उक्त समस्याको कारण सबैसमक्ष खुलस्त पारिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया