गुफाका लागि ४५ लाख उठ्यो

gufaकाभ्रे, ८ वैशाख । ज्याम्दी–३ पहरेभिरमा १ वर्ष अगाडि भेटिएको गुफाभित्रको शिव पार्वतीको शिला संरक्षणका लागि २६ चैतबाट सुरु भएको सप्ताहमा ४५ लाख रकम उठेको आयोजकले बताएको छ ।

०७१ साल ३ चैतमा स्थानीयहरू ८ जनाले पहरो भित्रमा घुम्दै गर्दा भिरभित्र गुफा भेटेका थिए । ‘हामी ८ जनाले पहिले गुफा देख्यौँ, त्यसपछि त्यहाँ पहिले म छिरेर हेर्दा भगवान शिव पार्वतीको शिला रहेछ, त्यसपछि यहाँ भक्तजनहरूको भिड लाग्न थालेको छ’, स्थानीय शम्भु पराजुलीले बताए । उनले भने, ‘यहाँको संरक्षण र विकास एवं मन्दिरसम्म जाने बाटो र अन्य सुविधाका लागि सप्ताहमार्फत रकम संकलन थालिएको छ ।’

पछिल्ला केहि महिनादेखि पहरेभिरभित्र रहेको गुुफामा रहेका शिव पार्वतीको दर्शन गर्ने भक्तालुहरूको भिड लाग्ने गरेको छ । त्रिनेत्रेश्र त्रिलिङेश्वर त्र्यंवकेश्वर महादेव एव त्र्यंवकेश्वरी देवी मन्दिरको नामाकरण गर्दै उक्त मन्दिरको निमार्ण एवं संरक्षण गर्दै पर्यटन विकासका लागि सप्ताहबाट रकम संकलन गरिएको सप्ताह आयोजकका सचिव गणेश पराजुले बताए । ॐकार ध्वनी आध्यात्मिक सञ्चारका निर्देशक मुकुन्द शर्माले भगवान्को वास रहेको स्थानमा राज्यको र पुुरातत्व विभागको सहयोग आवश्यकता रहेको बताए ।

सप्ताहको उद्घाटन पूर्वमन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले गरेका थिए । सप्ताहमा कांग्रेस जिल्ला सभापति मधु आचार्यले पर्यटन र धार्मिक रूपमा ज्याम्दीलाई विकास गर्न सकिने बताए । शनिबार सप्ताहको समापन गर्दै पूर्वउद्योगमन्त्री महेश बस्नेतले राज्यका तर्फबाट ऐतिहासक एवं धार्मिक स्थानमा लगानी गर्नुपर्नेमा जोड गरे । साप्ताह आयोजनका अध्यक्ष ज्ञानेन्द्र पराजुलीले हिन्दू र वौद्ध धर्ममा विश्वास गर्नेका लागि एउटा आस्थाको केन्द्र बन्नसक्ने सम्भावना रहेको पहरेभिरमा रहेको गुफासम्म आउनेजाने बाटो निमार्ण गरिदिन सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया