गर्मीले बढायो ठेउला र दादुरा

महोत्तरी, ३ वैशाख । महोत्तरीका अधिकांस वस्तिहरूमा चर्को घाम र असहनीय गर्मीका कारण ठेउला रोगको प्रकोप सुरु भएको छ । बदलिँदो मौसमसँगै ल्याएको हावाहुरी र प्रचण्ड गर्मीका कारण हावापानी दूषित भई विभिन्न गाविस तथा नगरपालिकामा ठेउलाका रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीले जनाएको छ ।

ठेउला रोग विशेष गरी स–साना बालबालिकामा देखापरेका छन् भने युवायुवती, वयस्क तथा बूढापाकासमेतमा यस रोगका लक्षण देखापरेको जिल्ला अस्पताल जलेश्वरका चिकित्सक राजीव झाले बताए । सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न गाविसस्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले दैनिक रूपमा २÷४ जना ठेउलाका रोगी आउने गरेका छन् । त्यस्तै १÷२ जना दादुराको बिरामी पनि आउने गरेको चिकित्सक साकेश कर्णले बताए ।

जिल्लाको जलेश्वर, गौशाला, बर्दिवास नगरपालिकासहित वथनाहा, हलखोरी, नैन्ही, सुगा, सिमरदही, पिगौना, परिकौली, भ्रमरपुरा, औरही, हाथीलेट, किसाननगर, विजरपुरा, लोहारपट्टिलगायत जिल्लाका ६६ वटा गाविसका विभिन्न गाउँमा ठेउलासँगै फाट्टफुट्ट रूपमा दादुरा रोगको प्रकोप पनि देखिएको त्यस क्षेत्रका चिकित्सक राजीव महतो, रवीन्द्रकुमार यादव र शिवशंकर यादवले जानकारी दिए । महोत्तरीका धेरैजसो गाउँमा ठेउला र दादुरालाई देवीको रूप भनेर यसको उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तारे भुटेका खानेकुरा नखाने चलन छ । ठेउला र दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतै कतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजा शुक्रबारासमेत गर्ने गरेको देखिन्छ ।

सरसफाइको अभावमा विशेष गरी गरिब परिवारमा हुने दादुरा रोग महोत्तरीमा प्रत्येक वर्षझै यसवर्ष पनि गरिब दलित बस्तीमा यसको प्रकोप बढ्दै गएको चिकित्सक गिरेन्द्र झाले बताए । जिल्लाका ग्रामीण बस्तीमा प्रायःजसो दादुराका रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने गर्दछ । तर, ठेउला र दादुरा सरुवा रोग भएकाले एकपछि अर्को व्यक्तिमा सर्दै गएको छ ।

प्रतिक्रिया