दुई दिनमै उक्कन थाल्यो पिच

काभ्रे, २ वैशाख । पनौती–बनेपा सडक लामो समयदेखि लथालिंग थियो । घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे हुने यो सडकको मर्मत नहुँदा आमजनताले कम्ती सास्ती पाएनन् । यो सडकमा सवारी साधान चलाउँदा त्यस्तै सास्ती । बनेपा–पनौती सडकको स्तरोन्नतीसहित गुणस्तरीय कहिले बन्ना भन्ने आम चासोको विषय बन्यो ।

यो सडकलाई पूर्ण व्यवस्थित बनाउने भन्दै राज्यकोषबाट २ आर्थिक वर्षको ७ करोड रुपैयाँ बजेट विनियोजन भएपछि बनेपा–पनौती सडक खण्डको पूरै ६ किलोमिटर सडक उच्च गुणस्तरमा कालोपत्रे हुने सम्झौता पनि भयो । यसअघि पनि सडक मर्मत सुधारका क्रममा ठेकेदारहरूले गुणस्तरलाई ध्यान नदिई रकम कामचलाउ मात्र गरेको देखिरहेका स्थानीय बासिन्दाले यसपटक भने बढी निगरानी गर्न थालेका छन् । दैनिक पनौती–काठमाडौं चल्ने झन्डै डेढसय वटा मिनिवसका साथै अन्य साना ठूला गरी दैनिक १ हजारभन्दा बढी सवारी साधन चल्ने यो सडकको गुणस्तरबारे सबैको चिन्ता हुनु स्वाभाविक पनि हो ।
केहि दिन अघिदेखि यो सडकको पिच गर्न सुरु गरेसँगै पिच गर्ने ठेक्का पाएको ठेकेदार कम्पनीले गुणस्तरमा ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् ।

काभ्रेको निर्माण व्यवसायीका महासचिव उपेन्द्र घिसिङले ठेक्का लिएर काम सुरु गरे । तर, सडकमा कालोपत्र गरेको २ दिनमै उक्कन थालेपछि स्थानियवासीहरू आक्रोशित भएका छन् । ठेकेदारले गुणस्तरलाई ध्यान नदिई जसरी हुन्छ छिटो काम सकेर बढीभन्दा बढी नाफा कमाउने उद्देश्य राखेको भन्दै स्थानीयवासिन्दाले उक्त पिचबारे सम्बन्धित निकायले प्राविधिक कुराहरूको चेकजाच गर्नुपर्ने बताएका छन् ।

यसअघि पनि सडक डिभिजन भक्तपुरले सडक मर्मतको ठेक्का निकाल्दा यहि कम्पनीले यो सडकमा कम गुणस्तरका सामग्री प्रयोग गरी बाटो मर्मत गरेकोले पटकपटक मर्मत गर्दा पनि सडकको अवस्था सुध्रन सकेको थिएन । अहिले गुणस्तरीय तरिकाले सडकको पिच गर्ने भनिए पनि कालोपत्र गर्दै गर्दा उप्कन थालेकाले एक वर्षमा उस्तै हुने स्थानीयवासीको आरोप छ । हुँदै गरेको कालोपत्रे ४ सेन्टिमिटर बाक्लो हुने बताइए पनि सो बराबरको नभएको समेत आरोप छ ।

सामग्रीको गुणस्तर विषयमा उठाइएको प्रश्नमा ठेकेदार उपेन्द्र घिसिङले भने, ‘काम गर्दा सबैलाई चित्त नबुझ्न सक्छ, हामीले राम्रै गरेका छौँ ।’ यस कार्यको लागि गत आवको बजेटबाट ३ करोड रकम छुटिएको र त्यसबाट १९ सय मिटर कालोपत्रे गर्ने स्टमेट गरिएको थियो । सो सडकको यसपटकको ७ करोड मध्ये ठेक्का गर्ने क्रममा ३ करोड विलोमा ४ करोड २१ लाखको लगानीमा बाँकी पूरै सडक मापदण्डअनुरूप कालोपत्रे गर्ने जिम्मेवारी गौरी पार्वती र नयाँ युग निर्माण कम्पनीले पाएको थियो । सम्झौताअनुसार पनौती बसपार्कबाट १९ सय मिटर सडक आगामी १ वर्षभित्र र बाँकी बनेपासम्मकै सडक २ वर्षभित्र कालोपत्रे भइसक्ने बताइएको छ ।

जिल्लास्तरको सडक सेन्टरबाट १५ मिटर हुनुपर्ने तोकिए पनि बनेपा–पनौती सडक निर्माणमा भने नगरपालिकाकै कारण सो बराबरको हुन सकेको छैन । १९ चैतबाटै सुरु गरिँदै आएको सडकको कालोपत्रको गुणस्तरमा स्थानीयवासीले व्यापक गुनासो गरेका छन् । ७२ पुस मसान्तभित्रै काम सकिसक्नुपर्ने भए पनि भारतको अघोषित नाकाबन्दीको कारण सडक कालोपत्र हुन सकेको थिएन ।

प्रतिक्रिया