विश्वयात्रा ‘बिस्केट जात्रा’ भन्नाले विश्वनाथ भैरव (जुन विश्वयात्राका प्रमुख देवता हुन्) को लिंगो गाड्ने र ध्वजा फहराउने यात्रा हो । यो विश्व ध्वजालाई वृषकेतु नामले पनि पुकारिन्छ । बिस्केट यात्रामा चैत मसान्तमा लिंगो ठड्याउने र वैशाख संक्रान्तिमा लिंगो ढाल्ने गरिन्छ । उक्त लिंगो ५५ हात अग्लो सल्लाको काठले बनेको हुन्छ । तान्त्रिक विधिबाट अभिमन्त्रित भेडाको टाउकाले छोएको रुख नै काटेर लेराउने प्रचलन छ । चैत मसान्तका दिन बिहान तालाक्वस्थित कुमाले टोलमा (जेठा गणेश मन्दिर) एउटा हात नभएको लिंगो र साँझ योसिँखेल (भेलुखेल) टोलमा बाजागाजासहित शास्त्रोक्त विधि अनुसार पूजा गरी ५५ हाते लिंगो उभ्याइन्छ । यो लिंगो १ वैशाखमा ढालिन्छ ।
भक्तपुरको टौमडी टोलस्थित प्रसिद्ध पाँचतले मन्दिरको छेउमा रथ निर्माण गरिन्छ । यो रथ करिब ३० फिट अग्लो ३ तले प्यागोडा शैलीको हुन्छ । यसका ४ वटा पांग्रा करिब १० फिट अग्ला हुन्छन् । अग्लो रथको दुवैतिर ४÷४ वटा मोटा डोरीले बाँधेर तानिन्छ । यस जात्रामा अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा २ वटा हरिया लामालामा नागनागिनीको प्रतीकस्वरूप ध्वजा (हलिँपत) फहराइने गरिन्छ । यसमा वैदिक, तान्त्रिक मंगलचिह्न र अष्टमंगलचित्र अंकित हुन्छन् । यस ध्वजालाई विश्वध्वजा, वीरध्वजा, र वृषकेतु पनि भनिन्छ । यस लगत्तै गहिटी टोलमा भैरवनाथ र भद्रकालीको रथ एकआपसमा जुधाइन्छ ।
यो जात्रा २७ चैतदेखि ५ वैशाखसम्म गरी जम्मा ८ रात ९ दिन चल्दछ । २७ चैतमा टौमडी टोलबाट भैरवनाथ र भद्रकालीको रथ तानी ५ वैशाखमा त्यहीँ पु¥याएर जात्रा सकिन्छ । टौमडी टोलभन्दा माथिका र तलका टोलबीच रथ तानातान हुुन्छ । २ वैशाखमा ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हुन्छ । ठिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिकनीमा १ गरी ३२ देवदैवीको खटयात्रा पनि यही अवधिमा हुने गर्दछ । ठिमीको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली एवं नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरमा खट यात्रा र टोलटोलमा सिन्दूर जात्रा हुन्छ ।
जात्राको आठौँ दिन भक्तपुरमा रहेका सबै देवीदेवताको सगुन पूजा (द्यो सगं बिइगु) गरिन्छ । नवौँ दिन (५ वैशाख) कुमाले टोलमा ठड्याइएको लिंगो ढालिन्छ र बेलुका जात्रा सुरु गर्दाझैँ गरी भैरवनाथ र भद्रकालीको रथ तानेर जात्राको समापन गरिन्छ ।
महत्वः
यो एक सांस्कृतिक परम्परा हो । विसं ६६१ को शिवदेव र मानदेवको लेलेको अभिलेखमा ध्वजगोष्ठीको लागि गुठी स्थापना गरिएको उल्लेख पाइनुले यसको प्राचीनतालाई पुष्टी गर्दछ । यो जात्रा हेर्नाले शत्रुनाश हुन्छ भन्ने मान्यता रहेकोले यसलाई ‘शत्रुहन्ता’ जात्रा पनि भन्ने गरिएको पाइन्छ । केही गरी रथ बिग्रिए वा रोकिए अनिष्ट हुने जनविश्वास छ र यस्तो अवस्थामा क्षमापूजा गर्ने गरिन्छ । १ वैशाखमा वागमती नदीको मुहान बागद्वार, त्यसपछि विष्णुमती नदीको मुहान चक्रतीर्थ र बालाजुको बाइसधारा नुहाई अनी भक्तपुरको बिस्केट जात्रा हेर्न जाने प्रचलन पनि पाइन्छ । पुरानो वर्षको बिदाई र नयाँवर्षको स्वागत गर्न लिंगो गाड्ने र ढाल्ने चलन चलाइएको बताइन्छ ।
पहिलो किंवदन्ती :
लिच्छवि राजा शिवदेवका पालामा किराँतहरू हमला गर्न आउँदा राजा भागेर बज्रजोगिनीका शरणमा गए । देवीले राजालाई उनका गुरु शेखर आचाजुको सल्लाह बमोजिम युद्ध गरे जित्छौ भनिन् । यो कुरा राजाले गुरुलाई सुनाए । यसपछि गुरुले १ हजार बाघको रूप लिएर शत्रुलाई लखेटी त्यहीरूपमा राजाका अगाडि आउने कुरा बताए । आफू बाघ भएर आउँदा नडाराउन र एक मुठी अक्षताले हिर्काउन अह्राए । यसरी गुरुले बाघ बनी शत्रुलाई भगाएका र फर्केर आएपछि राजाले अक्षताले हिर्काएपछि पुनः मानवरूपमा फर्केका थिए ।
यो घटना देखेकी आचाजुकी पत्नीलाई आश्चर्थ लागेछ र एकदिन पतिलाई अजिंगर बन्न आग्रह गरिछन् । पत्नीको कुरा टार्न नसकी आचाजुले पत्नीलाई एक मुठी अक्षता दिँदै भनेछन् ‘म अजिंगर भएपछि यो अक्षताले हिर्काउनु म फेरी मानिस हुनेछु ।’ यति भनेर गुरु अजिंगर भए । तर, हातमा अक्षता लिएकी गुरुपत्नी डराइछन् र भागिछन् । पत्नीले अक्षताले हान्लिन् र आफू मानिस हुन पाइएला भनेर अजिंगररुपी गुरु पछिपछि गए । पत्नीले भने झन् डराएर सबै कुरा बिर्सी मुठीको अक्षता मुखमा हालिन् । यसपछि उनी पनि अजिंगर भइन् । यसपछि कसैले अक्षताले हिर्काउला र मानिस बन्न पाइएला भनी दुबै मान्छकोे मुखमुख हेर्दै हिँड्न थाले । धेरै दिन बिते । राजाले पो गुन तिर्छन कि त भनेर दरबार नजिकै गए । राजाकोमा कुरा पुग्यो । राजाले वास्तविकता बुझ्न सकेनन् । तर यी अजिंगरलाई कसैले केही नगर्नु भने । कसैले पनि उद्धार नगरेपछि एकदिन दुबै अजिंगरले आत्महत्या गरे ।
यसपछि राज्यमा अनिकाल प¥यो । सबैले यसको कारण अजिंगरको आत्महत्यालाई माने र राजालाई शान्तिस्वस्ति गर्न अनुरोध गरे । तब राजाले गुरु खोज्न पठाए । कसैले गुरुलाई पाउन सकेनन् । राजा आफैँ गुरुका घरमा गए । ढोका खुलै थियो । अलिपर २ अजिंगर मरिरहेका थिए । गुरुले पहिले बाघ बनेर किराँती शत्रु भगाएको कुरा सम्झेर राजाले ती मृतक अजिंगर गुरु र गुरुआमा नै भएको ठहर गरे । अनेकौँ तान्त्रिक बोलाएर बचाउन प्रयास गरे तर सकेनन् । त्यसपछि ती गुरु र गुरुआमाको पराक्रम जुगजुगान्तरसम्म जनताले सम्झिरहुन् भनेर हरेक वर्षको चैतमसान्तमा ‘विस्यात’ भन्ने जात्रा चलाउन लगाए । यही शब्द अपभ्रंश भएर बिस्केट भएको हो । त्यसैले आजसम्म पनि एउटा लिंगो गाडेर अजिंगरको प्रतीक बनाई उभ्याइने गरिन्छ ।
दोस्रो किंवदन्ती :
एकजना राजाकी सुन्दर कन्या थिइन् । राजाले तिनको विवाह जोसँग गरे पनि अघिल्लो दिन सँगै सुतेको व्यक्ति भोलिपल्ट मरिरहेको हुन्थ्यो । त्यसपछि राजाले आफ्नी छोरीसँग १ रात बिताउनेलाई चाहेजति धनदौलत र राज्य दिने घोषणा गरेछन् । लोभमा धेरै आए तर सबै भोलिपल्ट हेर्दा लास बने ।
एकदिन एउटा राजकुमारले यसको रहस्य जंगलमा कुनै एक वृद्धाबाट थाहा पाए र त्यहीँनिर एउटा खड्ग पनि भेटे । त्यसपछि उनले गएर राजकुमारीसँग विवाहको प्रस्ताव गरे । विवाह भयो । राजकुमार र राजकुमारी शयनकक्षमा गए । राजकुमारी निदाइन् तर राजकुमार हातमा खड्ग लिएर नसुतिकन होसियार भएर बसे । मध्यरातमा राजकुमारीको नाकका प्वालबाट २ वटा सर्प निक्ले र राजकुमारलाई डस्न आए । राजकुमारले खड्गले दुबैलाई काटे । भोलिपल्ट दुबै जिउँदै देखेर राजा खुसी भई राज्य दिए । ती सर्पले मर्ने बेलामा भने बमोजिम तिनको सम्झनामा जात्रा चलाउन सुरु गरियो ।
(सन्दर्भ स्रोत : नेपालका चाडपर्वहरू, किरण पन्थी तथा अन्य वेबसाइडहरू)
प्रतिक्रिया