जिविस कर्मचारीको दादागिरी !

बुटवल, २७ चैत्र । जिल्ला विकास समितिका एक प्राविधिक कर्मचारीले सैनामैना, सालझन्डी क्षेत्रका निर्माण सामाग्रीसम्बन्धी उद्योगी, व्यवसायी र मजदुरहरूलाई बिनाकारण दुःख दिएको आरोप लगाइएको छ । सवइन्जिनियर कर्णबहादुर क्षेत्रीले अनाहकमा आफ्ना उपकरण नियन्त्रणमा लिएको आरोप स्थानीय निर्माण ब्यबसायीहरूले लगाएका छन् । सालझन्डीस्थित कन्चन नदीमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै शुक्रबार क्षेत्रीले विभिन्न स्थानबाट ३ वटा जेसिवी र २ जना चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

स्थानीयका अनुसार सवइन्जिनियर क्षेत्रीले तीमध्ये २ वटा उपकरणलाई जिबिसबाट स्विकृत लिई नियमानुसार ढुंगा गिट्टी घाटगद्दी गरिएको ठाउँबाट र अर्कोलाई बाटोमा अन्तै काम सकाएर फर्किहेको अवस्थामा नियन्त्रणमा लिएको आरोप पूर्णबहादुर बिकले लगाएका छन् । जिबिसका कर्मचारी क्षेत्रीले अनैतिक अपेक्षा राखी खराव नियतबश यस्तो कार्य गरेको बताउँदै काम गरिखाने मजदुरहरू र ब्यबसायीहरूलाई हतोत्साहित बनाउने नियतका कारण यस्तो घटना भएको बिकले दाबी गरे ।

जिविसले स्विकृति प्रदान गरेको स्थानबाटै नियमानुसार संकलन गरी गाउँमा घाटगद्दी गरिएको ठाउँबाट जेसिबी उपकरण र चालकलाई कब्जामा लिनु दादागिरी नै भएको बिकले बताए । ‘नियमविपरित कार्य गरेका छैनौँ बरु ति जिविसका कर्मचारीले नियमविपरित कार्यगरी जनतालाई दुःख दिएको हो,’ बिक भन्छन्, ‘हामीले कुनै प्रकारको अवैध कार्य गरेका छैनौं, भएका खण्डमा निश्पक्ष छानबिन गरी कारबाही गरियोस् अन्यथा जनतालाई दुःख दिने कार्य गर्नेलाई कारबाहीको दायरा ल्याउनुपर्छ ।’

संचारकर्मीसँग आक्रोस पोख्दै बिकले जिबिस कर्मचारी क्षेत्रीले मादक पदार्थ सेवन गरी लठ्ठ परेर आएको र ‘हामीलाई वास्ता नगर्ने, सोधनी पुछनी केही छैन तिमीहरू मात्रै कमाउने’ भन्ने शब्दहरू निकाल्दै आफूलाई हकारेको दाबी गरेका छन् । बिकका अनुसार क्षेत्रीको हर्कतका कारण आफूलाई लाखौँ रुपैयाँ घाटा भएकोले क्षतिपूर्तीसमेत दिलाई न्याय पाउँ भनी स्थानीय बिकास अधिकारी समक्ष निवेदनसमेत दिइएको छ ।

लामो समयदेखि बन्द रहेको निकासी बल्लबल्ल ३ महिनाका लागि खुलेको थियो तर यस्तै प्रकारको विभिन्न झन्झटले गर्दा निकासी सहज नहुँदा यहाँका विकास निर्माणका कार्यमा प्रत्यक्ष असर परेको स्थानीय निर्माण व्यवसायी मनोज कार्कीको भनाई छ । ३ महिनाको लागि मात्र जिविसबाट प्रक्रिया पु¥याइ अनुमति लिएरै नियमानुसार निकासी सुरु गरिएको एवं २–४ दिनमात्र बाँकी रहेको अवस्थामा जिविसका कर्मचारीबाट यस्तो अनैतिक कार्य भएको पनि कार्कीको भनाई छ । नियमानुसार डम्पिङ गरिएको स्थानमा जेसिबीबाट टिप्परमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हुनाले आपत्ती जनाउँदै कार्कीले अनैतिक अपेक्षासहित यस्तो कार्य गरेको व्यवसायीहरूले दाबी गरेका छन् । यसस्ता कार्यले स्थानीय उद्योगी व्यवसायीहरू त्रसित भएको उल्लेख गर्दै कार्कीले जिविसका कर्मचारी नै विकासबिरोधी भएका कारण यसक्षेत्रमा विकास निर्माणका कार्यहरू अलपत्र अवस्थामा रहेको बताए ।

उता स्थानीय विकास अधिकारी युवराज सुबेदीले जिविसका कर्मचारीले ३ वटा जेसिबीसहित दुईजना चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको र त्यस सम्बन्धमा आवश्यक छानबिन गरी दोषी पाइएका खन्डमा दोषीलाई कारबाही गरिने बताए । ‘आवश्यक छानबिनपछि दोषी ठहरिएमा कर्मचारी, व्यवसायी, मजदुर जोसुकै पनि कानुनी कारबाहीको दायरामा आउनुपर्छ, कानुनविपरित कसैले कार्य गर्नु हुन्न’, स्थानीय विकास अधिकारी सुबेदीको भनाइ थियो ।

प्रतिक्रिया