कृष्णदासजीकोे दोहोरो नागरिकता !

इटहरी, २७ चैत । आयुर्वेद तथा योगका ज्ञाता कृष्णदासजी महाराजले दुईवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यसै साता उजुरी परेको छ । उनले दुई फरक फरक नामबाट नागरिकता लिएको विषयमा उनकै भाइहरू ऐनकुमार गिरी र कुमार गिरीको योजनामा उजुरी हालिएको बताइन्छ । उजुरीकर्तामा अर्कै व्यक्ति उभ्याइएको छ ।

सुनसरी जिल्लाको चतरामा श्रीरामानन्दाचार्य सेवा पीठसहितको आश्रम सञ्चालन गरेर बस्दै आएका डा कृष्णदासजी महाराजले लिएका नागरिकताका प्रतिलिपि उजुरीसँगै बाहिर ल्याइएपछि यो विषयले सुनसरीमा चर्चा पाएको छ । उनले सन्यास लिनुअघि सोलुखुम्बु जिल्लाबाट लिएको २२२७÷५९५ नम्बरको नागरिकतामा कृष्णबहादुर गिरी नाम लेखिएको छ भने जुबु–१ सोलु भनेर जन्म ठेगाना लेखिएको छ ।

यता २०६५ साल पुष १७ गते सुनसरी जिल्लाबाट लिएको ०६९००४÷१३२८०८ नम्बरको नागरिकतामा भने उनको नाम श्री बैष्णव कृष्णदास लेखिएको छ । नयाँ बनेको नागरिकतामा जन्म ठेगाना जुबु सोलु र स्थायी बसोबास सुनसरी जिल्लाको बराहक्षेत्र–१ लेखिएको छ । सुनसरी जिल्लाबाट जारी नागरिकतामा प्रशासकीय अधिकृत वेदनिधि खनाल र सोलुबाट जारी नागरिकतामा भीमसेर रुम्दालीको हस्ताक्षर छ ।

नाडी छामेर नै बिरामी पत्ता लगाउने र आयुर्वेद तथा योगको सम्पूर्ण ज्ञान भएका कृष्णदासले दोहोरो नागरिकता सबै साधु र सन्तले लिने गरेको बताउँछन् । आफ्नो दोहोरो नागरिकताका विषयलाई भाइहरूले नै बाहिर ल्याएर बदनाम गर्ने दुष्प्रयास गरेको उनले आश्रममा पत्रकारसम्मेलन नै गरेर जानकारी दिए । दुईवटै नाम भएको एउटै व्यक्ति हो भनेर जिप्रकाले दिएको पत्र पनि आफूसँग रहेको उनले बताए ।

प्रतिक्रिया