ढोरपाटनमा आन्तरिक पर्यटक बढे

बागलुङ, २५ चैत । वसन्तयामको सुरु भएसँगै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । आरक्षको उपत्यकासम्म मोटर पुगेपछि ढोरपाटन पर्यटकको रोजाइमा पर्न थालेको छ । सडक पुगेपछि आन्तरिक पर्यटकको संख्या बढेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

कार्यालयले विदेशी पर्यटकको तथ्यांक राख्ने गरे पनि स्वदेशीको भने राख्ने गरेको छैन । ढोरपाटन जाने पर्यटकका लागि फागुन–जेठ उपयुक्त याम मानिन्छ । पुस–माघमा यहाँ हिउँ पर्ने हुँदा पर्यटक न्यून संख्यामा आउने गरेका छन् । त्यो समयमा स्थानीयवासी समेत बेँसी झर्ने चलन छ ।

‘फागुन, चैतदेखि जेठसम्म यहाँ पर्यटकीय चहलपहल बढ्छ,’ अधिकृत बरालले भने । यो याम विदेशी शिकारका लागि खुला हुन्छ । विभिन्न शिकार एजेन्सीमार्फत विदेशी शिकारीका पाँच समूह अहिले ढोरपाटनमा शिकार खेलिरहेका छन् । हिउँदको समयमा समेत सडक नियमित सञ्चालन हुने गरेको छ ।

दैनिक १०० बढी आन्तरिक पर्यटक ढोरपाटन आउने गरेको ढोरपाटन सामुदायिक लजका सञ्चालक पनबहादुर विक बताउँछन् । यहाँ थोरै संख्यामा रहेका होटललाई कहिलेकाहीं पाहुना राख्न धौधौ हुने गरेको छ । ‘पर्यटक आगमनसँगै होटल व्यवसाय पनि फस्टाउँदै गएको छ,’ उनले भने ।

पर्यटकीय चहलपहल बढेसँगै ढोरपाटनमा होटल–रेष्टुराँ खोल्ने क्रम बढेको छ । विभिन्न सरकारी कार्यालय, संघसंस्थाले पनि आफ्नो अध्ययन भ्रमणको सूचीमा ढोरपाटनलाई राख्ने गरेका छन् । विद्यालयले वर्षौंअघिदेखि शैक्षिक भ्रमणका लागि ढोरपाटनलाई रोज्दै आएका छन् ।

ढोरपाटन उपत्यका आसपास ढकमक्क फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउने गरेको छ । ढोरपाटन पुग्ने पर्यटकका लागि शिकार आरक्ष, तिब्बती शरणार्थी शिविर, गुम्बा, ढोरबराह मन्दिर, उत्तरगंगा नदीलगायत क्षेत्र आकर्षक गन्तव्य हुन् । ढोरपाटनवासीको मौलिक कला, संस्कृति, रहनसहनबाट समेत पर्यटक लोभिने गरेका छन् ।

धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्यता र विविधताले ढोरपाटन पर्यटकीय गन्तव्य बनेको हो । समुद्री सतहदेखि दुई हजार मिटरदेखि सात हजार २ सय ४६ मिटरसम्मको उँचाइमा ढोरपाटन आरक्ष क्षेत्र फैलिएको छ । ढोरपाटन उपत्यका करिब दुई हजार ८ सय मिटरको उँचाइमा पर्छ ।

पर्या–पर्यटनको विकास गर्न सरकारले २०४४ सालमा आरक्ष घोषणा गरेको हो । बर्सेनी विदेशी पर्यटक शिकार खेल्नका लागि आरक्षमा आउने गर्छन् । आरक्षभित्र तोकिएका वन्यजन्तुको शिकार गरेबापत लाखौँ रुपैयाँ राजस्व संकलन हुने गरेको छ ।

प्रतिक्रिया