लोप बन्दै सारंगी र गन्धर्व

gaine daiसंखुवासभा, २२ चैत । सारंगीको संगीतदिएर गीतलाई लयबद्ध गरी गाएर सबैको मन जितेर आफ्नो जीविका धान्दै आएका लोपोन्मुख गन्धर्व जातिहरू आधुनिक समाजको गीतसंगीतको प्रभावले उनीहरूको गीतखाएर खाने पेसा नै संकटमा पर्दै आएको छ ।

आधुनिक गीतसंगीतमा युवावर्गहरूको आकर्षणले गर्दा सारंगी रेटेर गीत गाउँदै गाउँसहर हिँडने गन्धर्वहरूको पेसा नै संकटमा पर्दै आएको हो । सारंगी बजाउनु सारंगीकै धुनमा मिल्ने गरी मनै छुने गीत गाएर श्रोतालाई भरपूर मनोरञ्जन दिनु गन्धर्व जातिको मौलिक पहिचान हो । आर्थिक उपार्जनको साधनको रूपमा पनि सारंगी रेटनु र गीत गाउनु गन्धर्वको परम्परा अहिले आएर आधुनिक युगको गीत संगीतसँग प्रतिस्पर्धा गर्न नसक्नुले गर्दा पेसा संकटमा पर्दै आएको छ ।

४२ वर्षीय कमल गन्धर्व बाल्यकालदेखि नै सारंगी रेटेर हिँड्ने गर्थे । भोजपुरको चरम्बी घर भएका उनी सानो छँदा गाउँका अधिकांश गन्धर्व परिवार सारंगी रेटेर गाउँगाउँ चहार्थे । तर, हिजोआज उनी र केही साथीहरू मात्र सारंगी बनाउने गरेको बताउँछन् । खाँदबारी कुरा गर्दे उनले भने, ‘हाम्रो परम्परागत पेसा हो तर लोप हुने क्रममा छ । सुखदुःखकासाथ शृंगारिक भावले मनोरञ्जनात्मक नेपाली लोकगीत र लोकभाकालाई इतिहासदेखि वर्तमानसम्ममा गीत गाउँदै हिँडनु गन्धर्वजातिको पुख्र्याैली पेसा मानिन्छ ।

स्वर्गीय झलकमान गन्धर्वले गाएको ‘हे… बरै…. बाबुले सोध्लानी खै छोरा भन्लान्’ भन्ने बोलको गीतहोस् या भोजपुर जरायोटारका युवागायक झ्याउरे गन्धर्वले गाएको ‘सारंगीबजाउँदै गाउँदै हिँडेको गाउँसहर मितेरी लाउँदै हिँडेको’ भन्ने बोलको गीत नै किन नहोस् यो गीतले नेपाली श्रोताको मन छोएको छ ।

आधुनिकताले हिजोआज नेपाली लोक संगीत क्षेत्रमा प्रसिद्धीकमाएको सारंगी बाजा र सारंगी बजाउने पारखीहरू लोप हुने क्रममा छन् । पछिल्लो समयको गिटार, भाइलन जस्ता साधनले पनि हस्तनिर्मित सारंगीबाट निकालिने संगीत सुन्नमै मात्रा पाउन थालेको छ । पुराना पुस्ताका गन्धर्वले परम्परागत शैलीमा भाखा हालेर श्रोताको मन पगाली सडक मागेको पैसाले छाक टार्दै आए पनि युवा पुस्ताहरू आधुनिक जीवनशैलीतर्फ आकर्षण हुन थालेपछि पुख्र्यौली पेसाबाट पलायन हुँदै जानथालेको भोजपुर जरायोटार निवासी ताराबहादुर गन्धर्वले बताए ।

सारंगीको धुनसँगै गीतको भाखामा खिपेर श्रोतासमक्ष प्रस्तुत गर्न सक्ने सिर्जनात्मक प्रतिभा र खुबी भएका गन्धर्वहरूको संरक्षणमा राज्यले विशेष पहल गर्नुपर्ने उनको धारणा छ । सारंगी र वादकहरू आधुनिकताले मेटाउँदै इतिहास बन्दै गएको छ । यसरी सारंगी रेटेर परिवारको गुजारा चलाउने यी जातिको कला संस्कृतिलाई जगेर्ना गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया