इपिएस भाषा परीक्षा ४ र ५ असारमा

काठमाडौं, २२ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ । श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा सोमबारबसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौं उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो ।

इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त संकलन गर्ने निर्णय गरेको छ । योवर्ष दरखास्त संकलनका लागि उपत्यकामा ५ स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेलधुरा गरी १० स्थानमा दरखास्त संकलन केन्द्र राखिनेछ । पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरूका लागि पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्ण हुनेलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । यसअघि भदौमा भाषा परीक्षा लिने भनिए पनि मानव संशाधन विभाग (एचआरडी) कोरियाले चाँडै परीक्षा लिन आग्रह गरेपछि असारमा सारिएको हो । नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८ सय परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् ।

यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कुल २ सय पूर्णांकको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ । कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदै छ । परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् । तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले २ वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएको छ ।

विगतमा म्यानपावरबाट कामदार रोजगारीमा कोरिया जाने गरेको भए पनि म्यानपावरले बढी शुल्क उठाउन थालेपछि सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ । यसअघिका वर्षमा ४० देखि ५० हजार युवाले परीक्षाका लागि आवेदन दिने गरेकामा ७ देखि ८ हजार उत्तीर्ण हुँदै आएका छन् ।

प्रतिक्रिया