नयाँ सहकारी ऐन ल्याइने

chitra bd kcचितवन । उपप्रधानमन्त्री एवं सहकारी विकास तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारीलाई व्यवस्थित गर्न नयाँ ऐन ल्याउन लागिएको बताएका छन् । ५९औँ सहकारी दिवसका अवसरमा नेपालको पहिलो सहकारी बखान सहकारी संस्थाले चितवनको शारदानगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा आएपछि कानुन बनाएर जनताको पैसाको संरक्षण गर्नेछौँ भनेका छन् । कानुन बनेसँगै सहकारीका नाममा हुने गरेका अनियमितता अन्त्य हुने उनले विश्वास व्यक्त गरेका छन् ।

मुलुकमा सहकारी जनताका लागि अत्यावश्यक हुने भए पनि व्यवस्थित हुन नसक्दा वास्तविक गरिबले यसबाट लाभ लिन नसकेको बताउँँदै उनले सरकारले छिट्टै सहकारीलाई व्यवस्थित गर्ने धारणा राखेका छन् । स्थानीयको मागअनुरूप ज्येष्ठ सहकारीलाई संग्रहालयका रूपमा विकास गर्न आफू सकारात्मक रहेको पनि उपप्रधानमन्त्री केसीले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बखान सहकारीलाई राष्ट्रियस्तरको संग्रहालय बनाउन सकिने बताए । सो अवसरमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले आर्थिक समृद्धिको आधार सहकारी बनेको भन्दै विधि र विधानअनुरूप सहकारी चल्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष मोहनसिंह लामाले देशको ज्येष्ठ सहकारी बखान सहकारीलाई संग्रहालयको रूपमा विकास गर्न आग्रह गरेका छन् । (सौस)

प्रतिक्रिया