फस्टाउँदै बाख्रापालन व्यवसाय

bakhra palan copyचितवन, १८ चैत । जिल्लाको सिद्धि गाविस–७ देउजरकी दिलकुमारी चेपाङको बाजेको पालामा ४÷५ वटा बाख्रा मात्र थिए । ती बाख्राबाट जन्मिएका पाठा हुर्काउन धेरै समय लाग्थ्यो । तर, अहिले उनले चाँडो हुर्काउने र बेच्ने गरेका छन् । ‘पहिले ३ वर्षमा खसी बेच्न तयार हुन्थ्यो, अहिले १ वर्षमै तयार हुन्छ’ उनले भने । उनीसँग अहिले ३० वटा बाख्रा र ६ वटा खसी छन् ।

दिलकुमारीले उन्नत तरिकाले बाख्रा पाल्न थालेको ४ वर्ष भयो । समयसमयमा सुई लगाउने गरिएको छ । जुका नाम्लेको औषधिसमेत दिइन्छ । ‘वार्षिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्छ’ उनले भने । उनको ५ जनाको परिवार पाल्ने आम्दानीको स्रोत खसीबाख्रा नै हो ।

खसी किन्न अहिले काठमाडौंबाट व्यापारी सोझै चेपाङको घरसम्मै आइपुग्छन् । ‘पहिले हचुवामा बिक्री गरिन्थ्यो, अहिले जोखेर जिउँदो प्रतिकिलो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ’, उनले भने ।

यस्तै देउजरकै बिबिमाया चेपाङले ५० बाख्रा पालेका छन् । १८ वटा त खसी मात्रै छन् । ‘यो वर्ष ८६ हजार रुपैयाँ आम्दानी भयो’, उनले भने । गतवर्ष डेढ लाख रुपैयाँसम्म कमाइ भएको उनी बताउँछन् । गाउँका पखेराभरि घाँस लगाइएको छ । यहाँका बाख्रा घाँसमा आधारित भएकाले खर्च कम हुन्छ ।

‘बाजेको पालादेखि बाख्रा पाले पनि आम्दानी खासै हुन्नथ्यो, अहिले तेब्बर बढी आम्दानी हुन्छ’ अर्का किसान सन्तकुमार चेपाङ भन्छन् । स्थानीय खरी जातका बाख्राका लागि उन्नत जमुनापारी बोका लगाउँदा उत्पादन राम्रो हुने गरेको उनको भनाइ छ ।

४ वर्षअघि सिद्धि गाविसभरि स्थानीय जातका ७ हजार बाख्रा पालिएका थिए भने अहिले सो संख्या बढेर १२ हजार पुगेको बताइएको छ । बाख्रापालनमा महिलाको सक्रियता अत्यधिक रहेको छ । हेफर नामक संस्थाले सीप सिकाउँदा महिलालाई प्राथमिकता दिने गरेको छ । ‘सुरुमा समूह गठन गरेर उनीहरूलाई तालिम दिइन्छ, पछि माउबाख्रा दिने गरेका छौँ’ हेफरका कार्यक्रम अधिकृत सुनिता शेर्पा भन्छिन् । उनीहरूलाई प्राविधिक सहयोगसमेत दिइन्छ ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामकुमार कार्की जिल्लाको ग्रामीण भेगमा बाख्रापालन फस्टाउँदै गएको बताउँछन् । जिल्लामा करिब २ लाख बाख्रा पालिएको तथ्यांक छ । पशुसेवा कार्यालयले किसानलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया