राष्ट्रप्रेमीका ‘जन्मभूमि’

main copyकाठमाडौ, १८ चैत । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जन्मभूमि’ शुक्रबार आउँदै छ । राष्ट्रिय भावना, माटोका कुरा र सामाजिक रूपमा राजनीतिक अतिक्रमण चलचित्रको मुख्य विषय बनेको छ । साथै, थिचोमिचो, वाह्य हस्तक्षेप एवं जनजीवनका विविध पक्षमाथि चलचित्र निर्माण गरिएको हो । चलचित्र जन्मभूमि मौलिक नेपाली चलचित्र हुनुको साथै मौलिक नेपाली जनजीवनको कथा समेटिएको चलचित्र भएको निर्देशक मोहन निरौलाले बताए ।

निर्देशक निरौलाका अनुसार चलचित्रमा उनले आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्ममार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेका छन् । झन्डै २० वर्षअगाडि निर्माण तथा प्रदर्शन गरिएको चलचित्र ‘जन्मभूमि’लाई पुनः नयाँ परिवेष र पात्रहरूको चयन गर्दै राष्ट्रियताविरुद्ध षडयन्त्र र खाइखेली गर्ने दलालहरूलाई जनताले कुनै पनि हालतमा छोड्दैनन् भन्ने सन्देश दिनेगरी सोही नामको चलचित्र दर्शकसामु ल्याउने प्रयास गरिएको लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिएका छन् ।

स्वाभिमानी नेपालीको सार्वभौमसत्ता र राजनीतिमाथि भारतले सदियौँदेखि गर्दै आएको हस्तक्षेप, सीमा अतिक्रमण, हालसालै गरिएको अमानवीय भारतीय नाकाबन्दी र नेपालमाथिको हेपाहा प्रवृत्ति राख्ने भारतको दुस्प्रयासमाथि धावा बोल्दै चलचित्र ‘जन्मभूमि’ तयार पारिएको छ । खासगरी सामाजिक कथामा केन्द्रित ‘जन्मभूमी’मा राष्ट्रप्रेम झल्काइएको चलचित्र भएको बताइएको छ । निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको चलचित्रको निर्माणमा निर्माता सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सह–निर्माता कविता निरौलाको योगदान रहेको छ । त्यस्तै चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको सशक्त अभिनय रहेको छ ।

चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रूपमा जेविका कार्की र अग्रिम गिरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायांकन, शंकर बिसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व ‘जन्मभूमि’मा रहेको छ ।

चलचित्र ‘जन्मभूमि’का कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । ‘जन्मभूमि’ स्वाधिन नेपालको रक्षार्थ राष्ट्रिय भावना जागृत गराउने र आफ्नो माटोप्रति अगाध प्रेम दर्शाउने सबैमा समर्पित गर्दै यही १९ चैतबाट देशभर एकैसाथ लाग्ने भएको छ ।

प्रतिक्रिया