पाकेटमार समात्न प्रहरीको अपरेसन

काभ्रे, १५ चेत । काभे जिल्लामा रहेका पाकेटमारहरूलाई प्रहरीले कानुनी दायरामा ल्याउन अपरेसन सुरु गरेको छ । एकै दिन बसमा यात्रा गर्दा १० जनासम्म पाकेटमारको सिकार भएको घटना सार्वजनिक हुन थालेपछि काभ्रे प्रहरीको नजर पाकेटमार केन्द्रित भएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । उनले भने ‘तत्कालै यस्ता साना पाकेटमारदेखि ठूला चोरसम्म पुग्ने अपरेसनमा प्रहरी लागेको उनको जिकिर छ । प्रहरीको यो कदमबाट पहिलो दिनमा नै एक यात्रु लाभान्वित भएका छन् ।

दोलालघाट–१ स्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाडौंदेखि सिन्धुपाल्चोक बाह्रबिसे चल्ने सार्वजनिक यातयात बा २ ख ६२६० नं. को भाडा बसमा यात्रा गरेका सीताराम अर्यालको पाइन्टको गोजीमा राखेको नेपाली २० हजार रुपैयाँ सोही बसमा यात्रा गरेका विजय भन्ने साइँला विक समेतले पाकेटमारी फरार भएक थिए । पीडितको उजुरीको आधारमा दोलालघाटबाट खटिएको प्रहरी टोलीले साइँलासहित, पूर्णबहादुर विक र सिन्धुपाल्चोकका नीरज तामाङलाई पक्रिएको हो ।

उनीहरूको साथमा रहेको २२ हजार ४ सय १० रुपैयाँ र मोबाइल २ थानसमेत फेला पारी पीडितलाई बुझाइएको छ । उनीहरूलाई पक्राउ जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानको लागि राखिएको बताइएको छ । साथै चोरी मुद्दामा ५ दिनको अनुमति लिई थप अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया