बेल्जियममा तीन दिन राष्ट्रिय शोक

ब्रसेल्स, १० चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको विमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेसनमा मंगलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रूपमा खोजी अभियान चलाएको जनाएको छ ।

उक्त आक्रमणमा मारिने व्यक्तिको संख्या ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधबार बिहान जानकारी दिएका छन् । इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि ३ दिनसम्म शोकको घोषणा गरिएको छ ।

विमानस्थलमा विस्फोट भएको १ घन्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ । यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बेल्जियममा ३ दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउनुका साथै राष्ट्रिय शोकको घोषणा गरेको छ । आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोकसभा गरी १ मिनेट मौनधारणा गरिने जनाइको छ । घाइतेमध्ये कयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या बढ्न सक्ने विभिन्न अस्पतालले जानकारी दिएका छन् ।

बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिएका छन् । यस्तो भीषण आक्रमण बेल्जियमले यसअघि कहिल्यै नदेखेको पनि उनले टिप्पणी गरेका छन् । साथै देशबासीका नाममा सम्बोधन गर्दै उनले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरूलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइछोड्ने आश्वासन दिलाएका छन् ।

आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पु¥याएको छ । हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । गएराति पनि रातभरि प्रहरीले हेलिकोप्टरबाट आक्रमणकारीलाई खोजी गरिरहेको जनाएको थियो । यस क्रममा कयौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तर, घटनामा संलग्न प्रमुख योजनाकारलाई भने प्रहरीले नियन्त्रणमा लिन सकिरहेको छैन । आक्रमणकारीको खोजीमा भएका प्रगतिको जानकारी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी गाराउने जनाएको छ ।

उक्त आक्रमणको जिम्मेवारी आइएसले लिइसकेको छ । आइएसले हालै मात्र आफ्ना १ जना सहयोगीलाई ब्रसेल्सबाटै नियन्त्रणमा लिइएकोले त्यसको बदलामा यो आक्रमण गरिएको जानकारी दिएको छ ।

यसैबीच श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आतंकवादविरुद्धको लडाइँका लागि संयुक्त रूपमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘विश्वका विभिन्न देशमा विभिन्न नाम र स्वरूपमा आतंकवादले प्रवेश पाइरहेकोले त्यसको निराकरणका लागि सबै विश्व समुदाय एकताबद्ध रूपमा लाग्नु जरुरी छ ।’

बेल्जियमको ब्रसेल्समा मंगलबार भएको आतंकवादी हमलाबाट ३५ जनाको ज्यान जानुका साथै सयौँ घाइते भएपछि उनले सो धारणा राखेका हुन् । बेल्जियमका राजा फिलिपलाई एक समवेदना पत्र लेख्दै उनले सो धारणा राखेका हुन् । उनले सो पत्रमा बेल्जियमका जनतालाई यस समयमा परेको दुःखप्रति आफू अत्यन्तै चिन्तित भएको जनाएका छन् ।

उनले बेल्जियमको आतंकवादी हमलाबाट ज्यान गुमाएका नागरिकप्रति श्रीलंकाली जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया