बैंककमा नेपाल महोत्सव हुने

काठमाडौं, ९ चैत । थाइल्यान्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघको आयोजनामा आगामी वैशाख ९ देखि १३ गतेसम्म बैंककको सेन्ट्रल वल्र्डमा नेपाल महोत्सव हुने भएको छ । महोत्सवका अवसरमा नेपाल–थाइल्यान्डबीचको पर्यटन र वाणिज्य साझेदारी बढाउने, नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई संसारमा चिनाउने तथा विनासकारी ‘गोरखा भूकम्प’मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्ज्वलन गरिने त्यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष खगेन्द्रराज ढकालले बताए । भूकम्पपछि थाइल्यान्डले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्न पनि महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवको अन्तिम दिन भूकम्पमा परी मृत्युवरण गरेका व्यक्तिको स्मरणमा थाइल्यान्डमा बसोबास गर्दै आएका नेपाली र थाई तथा विदेशी नगारिक सेन्ट्रल वल्र्डको यार्डमा भेला हुने थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए । अप्ठ्यारो अवस्थामा पनि थाइल्यान्डले नेपाललाई गरेको सहयोगप्रति उनले नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा राजदूत अधिकारीले पर्यटन, व्यापार र लगानीका माध्यमबाट नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय सहयोग आदानप्रदानलाई वृद्धि गर्नु महोत्सवको उद्देश्य रहेको बताए ।

थाइ–नेपाल चेम्बर अफ कमर्सका महासचिव सुथाम साचाफिमुखले महोत्सवलाई सफल बनाउन थाइ चेम्बरले सहयोग गर्ने बताएका छन् । भिक्षु डा. अनिल शाक्यले थाइल्यान्डले नेपाललाई गरेको सहयोग सराहनीय रहेको उल्लेख गर्दै महोत्सवले २ देशको अध्यात्मिक एवं वाणिज्य साझेदारीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरे ।

सिपिएन समूहका उपाध्यक्ष तथा एभरेस्ट बेसक्याम्पका लेखक क्रिट कुन्प्लिनले बौद्ध दर्शनको अध्ययन, अर्थपूर्ण जीउनेशैली र सुन्दर हिमाली क्षेत्रको अवलोकनका लागि नेपाल भ्रमण गर्न आग्रह गर्दै सबै थाइ समुदायलाई नेपाल महोत्सवमा सहभागी हुन आह्वान गरेका छन् । महोत्सवमा नेपालको पर्यटन तथा संस्कृति झल्कने वस्तु, उपहार सामग्री, खानाका परिकार, नेपाली हस्तकलाका सामग्री, पदयात्रा, यात्रा गन्तव्य र शृंगारिक वस्तु रहनुका साथै ‘बिजनेस टु बिजनेस’ बैठक हुनेछन् ।

विश्वको छैटाँै ठूलो र तथा थाइल्यान्डको सबैभन्दा ठूलो व्यापारिक केन्द्र सेन्ट्रल वल्र्डमा आयोजना हुने सो महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सव २० लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया