हिलारी र ट्रम्पको अग्निपरीक्षा

lastवासिंटन डिसी, ३० फागुन । आगामी २३ कात्तिक २०७३ मा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक चरणको निर्वाचन अहिले जारी रहेको छ । शुक्रबारसम्मको प्रारम्भिक चरणको चुनावले डेमोक्र्याट पार्टीको तर्फबाट हिलारी क्लिन्टनको अग्रता कायमै रहेको छ भने रिपब्लिकन पार्टीको तर्फबाट धनाढ्य डोनाल्ड ट्रम्पको उम्मेदवारी लगभग पक्का छ ।

हिलारीले राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनको सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसरजस्ता मुद्दालाई प्राथमिकताका साथ उठाएर अमेरिकालाई अझ सशक्त बनाउने योजना सार्वजनिक गरेकी छन् । उनले आर्थिक सुधारको लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट र मध्यम वर्गका लागि करको दायरा विस्तार गर्नेजस्ता योजनालाई अगाडि सारेकी छन् ।

पार्टीभित्रको प्रारम्भिक चुनावी दौडमा क्लिन्टनलाई चुनौती दिँदै आएका डेमोक्र्याट पार्टीका उम्मेदवार बर्नी स्यान्डर्स शिक्षामा बढी केन्द्रित भएका छन् । अरु मुद्दाभन्दा उनले कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त बनाउने योजना उनले सार्वजनिक गरेका छन् । यसले गर्दा ऋण लिएर अध्ययन गरिरहेका लाखाँै युवालाई उनले समेट्ने प्रयास गरेको देखिएको छ ।

उनलाई आर्थिक सुधारकको रुपमा समेत लिने गरिएको छ । त्यसैले पछिल्लो पटक राजनीतिलाई अर्बपतिहरुले प्रभावमा पारेको भन्दै त्यसलाई निस्तेज पार्न अब्राहम लिंकनले भनेजस्तै ‘जनताका लागि जनताद्वारा जनताको प्रजातन्त्र’ बनाउन अपिल गरेका छन् । स्यान्डर्सले पनि महिलाको मुद्दा, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षामा आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् ।

उता अनुदारवादी दलको रुपमा लिइने रिपब्लिकन पार्टीका तर्फबाट अग्रस्थानमा रहेका डोनाल्ड ट्रम्पले अमेरिकालाई एकपटक फेरि महान बनाउने नारा अगाडि सारेर मैदान तताएका छन् । कतिपय विवादास्पद भनाइहरुमाथि कटु आलोचना गरिए पनि आफूले उठाएका मुद्दामा उनी अडिग छन् । उनीमाथि आप्रवासी र मुस्लिम समुदायप्रति कठोर धारणा राख्ने गरेको भन्दै अमेरिकामै आलोचना भइरहेको छ ।

आप्रवासी समस्या रोक्न अमेरिकाले सीमामा पर्खाल निर्माण गर्नुपर्ने धारणा पनि उनको छ । आफूलाई वास्तविक नेतृत्वकर्ताको रुपमा चित्रण गरी निर्वाचनमा होमिएको बताउने ट्रम्पलाई अस्वीकार्यको बीचमा स्वीकारयोग्य नेताको रुपमा हेरिएको छ । किनकि उनको जति आलोचना हुन्छ त्योभन्दा बढी उनले मत प्राप्त गरिरहेका छन् ।

एकपछि अर्को सफलता पाएकाले उनलाई रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुनबाट अब रोक्न नसक्ने तर्क पनि आएको छ । उनलाई चुनौती दिँदै आएका रिपब्लिकन पार्टीका अर्का उम्मेदवार टेड क्रुजले स्वतन्त्र, मजबुत र सुरक्षित अमेरिका भन्ने नाराका साथ राष्ट्रिय सुरक्षालाई सम्बोधन गरेका छन् । उनले आर्थिक पक्षलाई रोजगारी, वृद्धि र अवसरको नारा अगाडि सारेका छन् । क्रुजले पनि आप्रवासीको विषयमा सीमाको सुरक्षा र वैधानिक आप्रवासीहरुको लागि उपयुक्त प्रणालीको विकास हुनुपर्दछ भन्दै आएका छन् ।

अमेरिकाको आगामी नोभेम्बरको चुनावमा यी चारमध्ये एकले नै राष्ट्रपतिको पदभार सम्हाल्ने सम्भावना प्रबल छ । अमेरिकी जनतालाई कसका नारा र धारणाले लोभ्याउँछ उसले नै त्यो पदमा आसिन हुन सक्नेछ ।

प्रारम्भिक निर्वाचनमा देखिएको प्रक्रियाले डेमोक्र्याट पार्टीकी हिलारी क्लिन्टन र बर्नी स्यान्डर्सको भाग्यको फैसला आगामी मंगलबारको प्रारम्भिक नतिजाले गर्नेछ । किनकि हालसम्म हिलारीले एक हजार २३८ डेलिगेट भोट प्राप्त गरेकी छन् । र, अन्तिम मनोनयनमा पर्नका लागि उनलाई थप एक हजार १४५ डेलिगेट भोट आवश्यक छ । प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले ५७२ मतका साथ क्लिन्टनलाई पछ््यारहेका छन् ।

डेमोक्र्याट पार्टीको कूल चार हजार ७६५ डेलिगेट भोटमध्ये दुई हजार ३८३ मत प्राप्त गर्नेले राष्ट्रपतिको निर्वाचनमा मनोनयन दर्ता गर्नसक्छ । उक्त पार्टीको आगामी मंगलबार फ्लोरिडा २१४, इलिनोइस १५६, मिजौरी ७१, नर्थ क्यारोलिना १०७, ओहायो १४३ गरी ६९१ डेलिगेट्सले मतदान गर्दैछन् ।

उता डोनाल्ड ट्रम्पले भने चुनौतीको सामना गरिरहनुपरेको छ । रिपब्लिकन पार्टीको कूल दुई हजार ४७२ डेलिगेट्समध्ये एक हजार २३७ डेलिगट्स भोट ल्याउनुपर्ने हुन्छ । हालसम्म ट्रम्पको ४६१ मत भएको छ भने उनलाई प्रतिद्वन्द्वी टेड क्रुजले ३६० मतले पछ््याइरेका छन् । यसैगरी सोही पार्टीका मार्को रुवियोले १५४ मत ल्याएका छन् । यसरी हेर्दा अहिले रिपब्लिकन पार्टीको चुनाव अझ प्रतिस्पर्धी र रोचक बन्दै गएको छ । सिएनएनको पछिल्लो सर्वेक्षणमा ६६ प्रतिशतका साथ हिलारी क्लिन्टन राष्ट्रपति बन्ने सम्भावना देखाएको छ भने डोनाल्ड ट्रम्पको २२ प्रतिशतको सम्भावना छ ।

अमेरिकाको राजनीतिमा उच्च स्थानको पद राष्ट्रपति नै हो । यो पदमा आसिन हुनलाई धेरै राजनीतिज्ञले आफ्नो जीवनका महत्वपूर्ण कालखण्ड बिताएका छन् । तर थोरैले सफलता हासिल गरेका छन् । यसपटकको निर्वाचनमा डेमोक्र्याट पार्टीले नै निरन्तरता दिन्छ या त्यसलाई तोडेर रिपब्लिकन पार्टीको उम्मेदवारले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ ।

प्रतिक्रिया