सरकारको आयु २ वर्ष : दाहाल

prachanda_dahal copyसिन्धुली, ३० फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र मधेसी दल सत्ता साझेदारीमा आउने र सरकार कम्तीमा २ वर्ष टिक्ने बताएका छन् । उनले वर्तमान सरकार परिवर्तनको सम्भावना नरहेको बताउँदै कांग्रेसको नेतृत्व परिर्वतनले सरकारलाई असर नगर्ने बताए ।

आइतबार सिन्धुलीका सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने, ‘कांग्रेसको नयाँ नेतृत्वले राजनीति र सरकारमा कुनै परिवर्तन ल्याउँदैन । वर्तमान सरकार कम्तीमा २ वर्षसम्म टिक्छ ।’ केही दिन अघि आफैँले कांग्रेस नेतृत्वको हिसाब किताब राख्न सार्वजनिक अपिल गरेका प्रचण्डले कांग्रेसको १३औँ महाधिवेशनपछि आएको नेतृत्वसँगै सरकार परिवर्तनको हल्ला मात्रै भएको बताए । उनले मधेसवादीसमेत चाँडै सरकारमा आउने विश्वास व्यक्त गरे ।

उनले सरकार परिवर्तन भए पनि कुनै ठूलो उत्पात नहुने बताए । उनले भने, ‘मैले सरकार परिवर्तनका लागि कुनै पनि भूमिका निर्वाह गर्ने सोच पनि बनाएको छैन, यही सरकारले संसद्को निर्वाचन गराउँछ ।

एमाओवादी अध्यक्ष दाहालले राजनीतिक दलहरूबीच सहमति र सहकार्य नभए देशको विकास र संविधानलाई कार्यान्वयन गर्न कठिन हुने बताए । उनले कांग्रेस र मधेसी दललाई सरकारमा सामेल हुन अनुरोध पनि गरे । दाहालले सत्ता साझेदार दलहरूसँग समीक्षा गर्दै सुधारको बाटो अपनाएको बताए । सरकार जनताले अनुभूति गर्नेगरी कार्यसम्पादनमा चुकेको भन्दै ४ प्रमुख पार्टीबीच समीक्षा गर्दै आएको जानकारी दिए । उनले भने, ‘सरकारले सोचेजति काम गर्न सकेको छैन, यो निश्चित हो, हामीले सरकारमा सहभागी ४ प्रमुख पार्टीहरूबीचमा पनि समीक्षा गरेका छौँ । यसलाई पनि सुधार गर्दै लैजानु पर्छ ।’

दाहालले आगामी मंसिरभित्रमा स्थानीय निकायको निर्वाचन र २ वर्षभित्रमा संसदको निर्वाचन हुने बताए । स्थानीय निर्वाचनको लागि अन्तिम तयारी भइरहेको दाहालले खुलासा गरे । राजनीतिक समिति निर्माण गरी त्यसको सिफारिसका आधारमा सरकारले कात्र्तिकदेखि मंसिर भित्रमा स्थानीय निर्वाचन गर्ने योजना बनाएको उनले बताए । ‘२ वर्ष भित्रमा वर्तमान सरकारले नै संसद्को निर्वाचन गराउनेछ ।’ उनले भने, ‘आगामी मंगलबारभित्रमा स्थानीय निर्वाचनको लागि आवश्यक तयारी गर्न राजनीतिक समिति बन्ने छ ।’

प्रतिक्रिया