साग पदक बिजेता खेलाडी सम्मानित

sag player samman1 copyकाठमाडौं, २७ फागुन । मित्र राष्ट्र भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरूलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको सभापतित्वमा आयोजित राष्ट्रपति रनिङशिल्डको उद्घाटनको अवसरमा बिहीबार १६ खेलाडीलाई समितिले सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरूमा स्वर्ण पदक प्राप्त गर्ने फुपु ल्हामु खत्री (जुडो) र विराज महर्जन (फुटबल), रजत पदक प्राप्त खेलाडी सक्षम कार्की (तेक्वान्दो) र रोजा केसी (ट्राईयाथलन) छिन् । रोजाले टिम इभेन्टस्मा कांस्य पदकसमेत प्राप्त गरेकी थिइन् ।

यस्तै कांस्य पदक प्राप्त गर्ने खेलाडीहरूमा भलिबलका प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भण्डारी, आर्चरीका प्रेमप्रसाद पुन, खोखोका विक्किराज महर्जन र पवन महर्जन, टेबल टेनिसका चन्द्र शाही, दीप साउन, अम्मरलाल मल्ल, नविता श्रेष्ठ र एलिना महर्जन तथा कबड्डीका चन्द्रवती बिष्ट रहेका छन् ।

स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेले क्रमशः १०, ७ र ५ हजार नगद पुरस्कार प्राप्त गरेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराईले जानकारी गराए ।

बिजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारका साथै प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा सांसद् रामेश्वर फुयाल, ध्यानगोविन्द रञ्जित, परिषदका सदस्यहरू फत्तबहादुर गुरुङ, शान्ति गुरुङ, यान कुमारी गुरुङ ‘अस्मीता’, नारायणप्रसाद पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि खेलकुद मन्त्री मन्डलले राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटनसमेत गरेका थिए । जिल्लास्तरीय छनोट प्रतियोगितामा काठमाडौंका १० निर्वाचन क्षेत्रबाट एक सयभन्दा बढी विद्यालयका आठ सयभन्दा बढी विद्यार्थी खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष ध्रुबराज न्यौपानेले जानकारी दिए ।

आगामी आईतबारसम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीले समूहगत खेल भलिवल, कबड्डी र एथलेटिक्ससहित मार्शल आर्टका तेक्वान्दो, उसु र करातेमा गरी ४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दो र भलिबलको प्रतिस्पर्धा बिहीबारबाटै सुरु भएको छ ।

प्रतिक्रिया