गाउँको घर

dyrga prasad gwoltare copyउनीहरूले दिनभर लगाएर कुम्लो कुटुरो कसे । सत्तरी नाघेका यी दम्पत्तीलाई भूइँचालोले जर्जर पारेको गाउँको घरमा गएर मरम्मत गर्ने चुनौती त छँदै छ, त्यसमाथि पनि बिहानबेलुकाको चुलोचम्कोको उत्तिकै टाउको दुखाइ थियो । सुविधा सम्पन्न घर सहरमा भएर के गर्नु, आफ्नै पौरखले ३ कोस टाढाबाट निदाल र दलिन बोकेर बनाएको त्यो पुरानो घरको माया बिछट्टै छ बूढाबूढीलाई ।

‘आमा, गाउँघरमा मास खोजेर मस्यौरा पार्न लाउनु ल, साह्रै मीठो ! तल्लो खेतमा मकैसकै लाउनु पर्दैन, तोरी छर्न लाउनुहोला, गुन्द्रुक भनेपछि त हुरुक्कै हुन्छ आफूलाई !’ बुहारीले फर्माइन् सासूलाई ।

‘यहाँको किनुवा चामलले आँतै भरिँदैन बा ! गैरीखेतमा मसिनो धान लगाउन लगाउनुस् ल ! ‘छोराले मनको कुरा राखे । अन्य थुप्रै अन्नपात र सुख्खा तरकारीको सुची बाआमासँग राखे छोराबुहारीले पालैपालो ।

‘बाबू, टिकट त ल्याइदिस्, यसो अलिअलि घरखर्ची पनि व्यवस्था गर्थिस् कि !’ छोरासँग खाँचो राखे बाले ।

‘मैले गाविस सचिवलाई फोन गरिसकेको छु बा ! २ जनाको ६ महिनाको वृद्धभत्ता हात लागेपछि तपाईंहरूलाई ओढ्नेओछ्याउने भइहाल्छ नि ! थाहा पाउनु भएकै छ केटाकेटीको फिस तिर्न सकिएको छैन । महँगीले जे पनि किनिनसक्नु छ । ‘छोराले घुमाएर बाको माग अस्वीकृत गरे ।

‘आफूहरूलाई हप्तैपिच्छे भोजभतेर गर्न पुग्ने, गाडी लिएर ठाउँठाउँमा घुम्न जान पुग्ने, हाम्रालागि भने … ! ’ मनमनै हुँडलिए पनि केही बोलेनन् बाले । बाटा लागे बुढाबूढीे ।

‘बुहारी, हामी सजिलोसँग आइपुग्यौँ । हाम्रो चिन्ता गर्नु पर्दैन । … सुन त, हाम्रो खाटको सिरानमुनि थैलीभित्र मेरा नौगेडी छन्, बाँडाकाहाँ दिएर नानीहरूको फिस तिरेस् ल !’ गाउँ पुग्नेबित्तिकै आमाले फोन गर्नुभयो ।

‘खुब गरिछस् लठ्यांग्री, बाठी भा’की !’ बूढीको कुरो टुंगिने बित्तिकै बुढा जर्किए र घरको पेटीमा धुलो फुक्दै थचक्क बसे ।

प्रतिक्रिया