निबन्धः रानोविनाका माहुरी

hang yug copyसुरुमा यहाँ माझीहरू बस्थे, पानीमाथि तैरिएको उनीहरूको बस्ती थियो ‘फिसिङ भिलेज’ । अनि माछा मारेर जीवन चलाउने यी माझीका सानासाना डुंगाहरूलाई संसार डुलिहिँड्ने ठूलाठूला बेलायती जहाजहरूले किनारा पारे । अनि ‘फिसिङ भिलेज’ रूपान्तरण भयो अफिम कारोबारको व्यस्त बन्दरगाहमा । इतिहासमा प्रख्यात अफिम युद्ध यहीँबाट सुरु भयो । अफिमको बास्ना बोकेर बहन्थ्यो यहाँको हावा । अनि राखियो यो टापुको नाम सुगन्धित बन्दरगाह अर्थात् होङकोङ । अनि ‘फिसिङ भिलेज’ भयो एसियाको प्रवेशद्वार । २ सय वर्ष अगाडि भएको सुगौली सन्धिले हामीलाई पनि होङकोङ पु¥यायो र आज यहाँ हामीले सानो नेपाल बनाएका छौँ । साहित्यमा नेपाली भाषा र संस्कृतिको जगेर्ना, संरक्षण र सम्बद्र्धन गरिरहेका छौँ । सम्भवतः त्यसै भएर होला हङकङमा नेपालबाट कविलेखकहरू आउँछन्, हङकङ घुम्छन् अनि यहाँको भौतिक विकास देखेर विस्मित हुन्छन् र फर्किन्छन् । नेपाल फर्केपछि ती कविलेखकहरूले हामीलाई बिर्सिन्छन् । हामी भने सम्झिराख्छौँ । त्यस्तै यौटा सम्झना छ मनमा आइरहने ।

एकदिन बिहानै एभरेस्ट साप्ताहिकका सम्पादक किसन राईले फोन गरे, ‘होइन, नेपालबाट आएका कविलेखकहरू चुङकिङमा गोठालोविनाको भेँडाबाख्रा जस्तै भएका छन् रे ! सिर्जनशील साहित्य समाजले व्यवस्थापन गर्नु प¥र्यो नि । नत्र, नेपाली कविलेखकहरूकै बेइज्जत हुने भो ।’

मैले सोधेँ कोको आएका छन् ? किसनले भन्यो, ‘रामेशरायनदेखि मोदनाथ प्रश्रित, तुलसी भट्टराईहरू रहेछन् । दुईदर्जन जति छन् रे ! तुलसी भट्टराईले विशेष तपाईंलाई खोज्दैछन् रे ! लु चाँडो गइहाल्नुहोस् । एजेन्ट बेपत्ता छन् रे, तपाईंले नै हङकङ घुमाइदिनुस् ।’ छुट्टी थियो मेरो तर हप्तामा एकदिन आउने छुट्टीमा धेरै घरेलु कामहरू गर्नुपर्छ । लुगा धुने र कोठा सफा गर्ने, नेपाल आफन्तलाई फोन गर्ने, पढ्ने लेख्ने र आराम गर्ने जस्ता यावत् कामहरू छुट्टीकै दिन गर्नुपर्छ । तैपनि, नेपालबाट यसरी हङकङ घुम्न आएका कविलेखकहरू विजोग भएको सुनेर एकदिनको छुट्टी उनीहरूलाई दिने निर्णय गरेँ । यसका लागि मैले सिर्जनशील साहित्य समाजका सचिव नरेश सुनुवारलाई फोन गरेर राय लिएँ ।

‘सचिवज्यू ! नेपालबाट दुईदर्जन कविलेखक चुङकिङमा ट्राभल एजेन्ट हराएर अल्मलिएका छन् रे ! उनीहरूलाई आज हङकङ घुमाउने काम गर्ने हो कि ?’ धन्न कवि नरेश सुनुवारको पनि छुट्टी रहेछ ।

‘यो त बहुत राम्रो काम हो । के छ र ! घुमाइदिऊ न त ।’ कवि नरेशले भने । अनि नरेश सुनुवार र म चुङकिङतिर हतारिँदै दौडियौँ ।

फेरि फोन बज्यो मेरो । डा. तुलसीप्रसाद भट्टराईले गरेका रहेछन् । नेपाल छँदै राम्रोसँग चिनजान थियो भट्टराईसँग । शान्तिनगर भीमसेनगोला वल्लो घर पल्लो घर छतमा बसेर गफ गथ्र्याैं हामी । म त्यतिबेला कवि विष्णुविभू घिमिरेको घरमा बस्थेँ । एकदिन भट्टराई दाइसँग छतछतमा बोल्दै गर्दा उनले बोलाए घरमै कविता सुन्न । म गएँ, कविता सुनेँ, चिया खाएँ, किताब पनि लिएँ ।

फोनमा तुलसी दाइको आवाज आयो ‘हाउ भाइ ! हाङयुग भाइ होइन ?’ मैले हो भनेँ । अनि तुलसी दाइले हङकङ आउनुको बेलिबिस्तार लाए । हामी तपाईंहरू हराएको सहरतिरै आउँदै छौँ भनेर मैले फोन विच्छेद गरेँ ।

तुलसी दाइहरू खासमा चीनको गोन्जाउ सहर घुम्न आएका रहेछन् । प्रज्ञा प्रतिष्ठानको भ्रमण टोली २४ जनाको रहेछ । गोन्जाउदेखि सेन्जेन आएछ्न् र सेन्जेन आएको बेला हङकङ पनि घुमेर जानू भनेछ ट्राभल एजेन्टले । हङकङको चुङकिङ ल्याइपु¥यापछि ट्राभल एजेन्ट गायब भएछ । यो अजंगको सहरमा पहिलोपटक आइपुग्ने मान्छे अतालिनु स्वाभाविक नै हो । फेरि २४ जनाको जम्बो टोली, कोही कवि, कोही कलाकार, कोही नेता, कोही गायक, कोही गफाडी । त्यस्तै कोही कांग्रेसी कोही एमाले कोही माओवादी । यसरी बिरानो सहरमा बेपत्ता हुँदा सकस त हुने नै भयो ।

नरेश र म चुङकिङ पुग्यौँ । हामीलाई देख्नेबित्तिकै तुलसी दाइले शान्तिको सास फेरेको थाहा पाएँ मैले, अँगालो हालेर भने, ‘लु हाउ भाइ ! हामीलाई त रानोविनाको माहुरी नै बनायो तो ट्राभल एजेन्टले । यतै नजिकैतिर हामीलाई घुमाउदेऊ न । घुम्ने खर्च छ हामीसँग ।’ ‘लौ दाइ उसोभए हिँडिहालौँ । खाना खानु भएको छैन भने बाटोमै खाऔँला ।’ मैले यसो भनेँ । तुलसी दाइले लाखापाखा लागेका साहित्यकारहरू बटुल्न थाले । चुङकिङको कुनामा इन्डियनको खाजाघरमा मोदनाथ प्रश्रित र अर्को एकजना पुरीतरकारी र चिया खाइरहेका थिए । रामेशरायन अलि परतिर उभिएका थिए । अर्को एकजना तीखो स्वर भएको कालो न कालो मान्छे थियो, ऊ निनु चापागाईंले रहेछन् । अनि एकछिन पछि महिला टोली आइपुगे । एकजना कथाकार थिइन्, नाम भुलेँ । अनि कालो चस्मा लाएकी गोरी महिला थिइन्, उनी शारदा शर्मा रहेछिन् । अरू धेरैसित परिचय भयो ।

चुङकिङबाट हिँड्दैहिँड्दै स्टारफेरि पुगियो । पारि हङकङ सहरको गगनचुम्बी भवनहरू आकाश छेड्न उभिएका थिए । बादलहरू झ्यालझ्यालमा पोको परेका थिए । पहिलोपटक यो सहरको भव्यता देखेर जसले नि जिब्रो निकाल्छ, मुटु ढक्क फुलिन्छ । मोदनाथ प्रश्रितले अचम्म मान्दै प्रश्न गरे, ‘कसरी बनाए होलान् यस्ता भव्य गगनचुम्बी भवनहरू ?’ मैले भनेँ, ‘बनाउनु त हामीले नै बनाएका हौँ तर यस्का मालिकहरूले धेरै गरिब मुलुकहरू लुटेका छन् ।’ मेरो कुरो सुनेर निनु चापागाईं हाँसे, मोदनाथ जिल्ल परे । अनि दिनभरि निनु चापागाईंले मेरा कुरा निक्कै चाख मानेर सुने ।

शारदा शर्माले सोधिन्, ‘त्यो भवनमा कति तला होला ?’ नरेश सुनुवारले भन्यो, ‘८८ तला छ । त्यही टावरमा कवि हाङयुग काम गर्नुहुन्छ र त्यो टावर हङकङको सबैभन्दा अग्लो टावर हो ।’ आइसिसी टावर बनेको थिएन त्यो बेला । त्यसकारण त्यो झ्याम्पलजस्तो आइएफसी टावर नै त्यतिबेलाको अग्लो टावर थियो ।

अनि हामी स्टारफेरी डुंगा चढेर पारी मुख्य हङकङ टापु पुग्यौँ र त्यहाँबाट बस चढेर उकालो भिक्टोरिया पिक लागियो । भिक्टोरिया पिक जाने पहाडको पहरामा अग्लाअग्ला भवनहरू देखेर तुलसी दाइले भने, ‘नेपालका पहाडहरूमा पनि यस्तै बनाउन पाए, हगि भाइ ?’ मैले भनेँ, ‘हङकङमा भूकम्पको धक्का लाग्दैन किनभने यसको वरिपरि पानी छ । भूकम्पको शक्ति पानीले सोस्छ । फेरि यो टापु पनि चट्टान नै चट्टानले बनेको छ । भुइँ भासिदैन । तर नेपालको भूगोल यस्तो छैन । नेपालका सानासाना घर नै सुन्दर हुन्छन् । नेपाली राजनीतिक व्यवस्था र जनताले सभ्य हुने हो भने थोरै समयमै नेपाल हङकङभन्दा सुन्दर हुन्छ ।’ अनि बसभित्र होहल्ला गर्न लागे, हाँस्ने र ठुल्ठूला स्वरमा गफ गर्न लागे । बसभित्रका स्थानीय चिनियाँहरूले अनुहारभरि घिन पोतेर हामीलाई हेरे । कवि नरेश सुनुवारले हामीलाई घुरेर हेर्ने चिनियाँलाई भने, ‘मौ इसी सिङ साङ (महोदय माफी चाहन्छौँ) । ‘तुलसी भट्टराईहरूले हल्ला गरेर अरूलाई डिस्टर्ब गरेकोले कवि नरेशले चिनियाँसँग माफी मागेका थिए । रामेश र रायन चुपचाप झ्यालबाट बाहिर आँखा डुलाउँदै थिए । उनीहरूलाई गफसित कुनै सरोकार थिएन ।

अनि एकछिनपछि फेरि तुलसी दाइहरू संस्कृतमा वात मार्न थाले । कवि नरेश सुनुवारले मलाई हेरे । मैले मुसुक्क हाँसिदिएँ । पछि कवि नरेशले भने, ‘यिनीहरूलाई घुमाउन लाने हामी अनि हाम्रै अगाडि संस्कृत बोलेर हामीलाई नै दनक दिए त । ‘मैले भनेँ, ‘तुलसी भट्टराईले बनारसबाट संस्कृतमा डाक्टर गरेका हुन् । त्यसैले उनले संस्कृत बोलेका होलान् । ‘अनि फोन बज्यो फेरि । संगीतकार गणेश पराजुलीले गरेका रहेछन् । बेलुकी उनको रेस्टुरेन्टमा खाना र भेटघाटको लागि लैजानुपर्ने । तुलसी भट्टराई भेना रै’छन् साइनोमा गणेशको ।

रामेश दाइ निक्कै छटपटिएका थिए । उनलाई नेपाल फोन गर्नुपर्ने रै’छ । नरेशले नेपाल फोन सम्पर्क गरिदिएपछि ढुक्क भए उनी । त्यसपछि रमिता हेरेर हामी झ¥यौं भिक्टोरिया पिकबाट । मोदनाथ दाइले खाना तताउन माइक्रोवेभ किन्छु भने अनि हामी छि¥यौं सपिङ मल । माइक्रोवेभ छान्दाछान्दा हैरान भैयो । निनु चापागाईंले त प्याच्च भने, ‘नेपालमा बिजुली नै आउँदैन । किन चाहियो माइक्रोवेभ ? उही धूप बाल्दै राखे मात्रै हो ।’ ‘आउँछ नि कहिलेकाहीँ त ।’ प्रश्रितले भने । अन्त्यमा मैले यौटा माइक्रोवेभ किनिदिएँ र हामी लाग्यौँ गणेश पराजुलीको रेस्टुरेन्टतिर ।

त्यहाँ गणेशले गीत गाउनलाई बाजागाजा तयार गरेका थिए । खानाभुजा पनि तयार थियो । रामेश र रायनले गीत सुनाए । कविहरूले कविता सुनाएँ । पर कुनामा कवि नरेश सुनुवार र म खर्च हिसाब गर्न थाल्यौँ । २४ जनालाई घुमाउँदा ८ हजार हङकङ डलर खर्च भएछ याने कि आधा महिनाको तलब । ‘लहै ! दाजुदिदीहरू राम्रोसँग नेपाल पुग्नुहोस् । चुङकिङसम्म गणेशले पु¥याउनेछ ।’ भनेर कवि नरेश र म रेल स्टेसनतिर लम्कियौँ । रातको १० बजिसकेको थियो । थकित थियौँ तर हङकङमा ट्राभल एजेन्टले विजोग बनाएका नेपाली कवि, लेखक तथा कलाकारहरूलाई दिनभरि घुमाउन पाउँदा यौटा छुट्टै आनन्द थियो मनमा । यतिका वर्ष बित्दा पनि हामी त्यो दिन सम्झिरहेछौँ । आजभोलि पनि जब म चुङकिङमा पुग्छु तब कुनामा मोदनाथ प्रश्रित पुरी तरकारी खाइरहेको देख्छु । कालो मुसलन्डे निनु चापागाईं उभिरहेको देख्छु । रामेशरायन छुट्टै गन्गनाइरहेको देख्छु । तुलसी भट्टराई यताउता ट्राभल एजेन्टलाई खोजिरहेको देख्छु । अनि कालो चस्मा लाएकी शारदा शर्माले छुट्ने बेला भनेको सम्झिन्छु, ‘नेपाल आउँदा भेटौँ है भाइ । तपाईंहरूको आजको सहयोग जीवनभर सम्झिरहनेछौँ ।’

हामीले त सम्झी नै रहेका छौँ । तर, हङकङ आएर फर्किनेहरूले आजसम्म खै ! कसले पो सम्झेको छ र ? हुन त आआफ्नै समस्यामा जेलिएका हुन्छन् मान्छेहरू । सामाजिक संजालबाटै थाहा पाएँ शारदा शर्मामाथिको बज्रपात । बन्दरगाहबाट परपर जाँदै गरेको जहाज जस्ता छन् हाम्रा सम्झनाहरू पनि । तर, हामी निःस्वार्थ सम्झिरहनेछौँ र यो पुरानो फिसिङ भिलेजमा फेरि पनि स्वागत छ । हामी सम्झनाको पुरानो डुंगा लिएर किनारमा पर्खिरहेका छौँ नेपालका महान् कविहरू ।

प्रतिक्रिया