हुम्लाका १३ गाविसमा खुला दिसामुक्तक्षेत्र

JUmlaहुम्ला, २० फागुन । हुम्ला जिल्लामा २०७३ सम्ममा जनतालाई खानेपानी तथा चर्पीयुक्त घरको व्यवस्था गर्ने राष्ट्रिय लक्ष्य अनुरूप जिल्लाका १३ गाउँ विकास समितिलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला खाने पानी, सरसफाइ स्वच्छता समितिले सो सम्बन्धी बैठकगरी जिल्लाभरिमा छिटोभन्दा छिटो खुला दिसामुक्तक्षेत्र घोषणाका लागि पहल गर्न सरोकारवाला अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।

२७ गाउँ विकास समिति मध्येमा १३ गाविसले ४ हजार ५ सय ८७ वटा घरधुरीमा चर्पी निर्माण गरिसकेका छन् । ती मध्ये हालसम्म श्रीमस्ठा, मित्रि, जौर, रोडिकोट, मैल, कालिका, बरगाउँ, खार्पुनाथ, राया, लाली, छिप्रा, मदान र खगाउँ गाविसमा चर्पी निर्माण गरिसकिएको छ ।

मिस्ठा गाविसमा १ सय ७४ चर्पी निर्माण कार्य सम्पन्न भएका छन् । पछिल्लो पटक खगाविसमा २ सय २३ चर्पी निर्माण भएको उक्त गाविसका सचिव नन्दबहादुर राउतले जानकारी बताए । अन्य १४ गाविसमा छिटोभन्दा छिटो खुला दिसामुक्त क्षेत्र बनाउने सबैको सहयोगको आवश्यकता रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख ज्वालाराज साहीले बताए ।

जुम्ला पनि खुला दिसामुक्त
जुम्ला नेपालको ३४औँ जिल्लाका रूपमा खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । नेपाली सेनाको टुँडिखेल जुम्लाको विशाल जन सहभागितामा जुम्लालाई ३४औँ जिल्लाका रूपमा घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले गरे । २६ गाविस र १ नगरपालिका रहेको जुम्ला जिल्लाको सरसफाइको अवस्था ८५ प्रतिशत रहेको कुरालाई मियो बनाउँदै यस जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले नेपालका ७५ जिल्लामा ३४औँ स्थानमा खुला दिसामुक्त भएको जुम्लाका नागरिकको स्वास्थ्य तथा सरसफाइमा नयाँ आयाम थपिएको जानकारी गराए । कर्णालीमा आधारभूत सरसफाइको युग थालनी भएको बताउँदै उनले यो ऐतिहासिक दिनले यस क्षेत्रको विकास र समृद्धिको ढोका खुलेको धारणा राखे ।

प्रतिक्रिया