बबई उपत्यकामा गैँडा छोडियो

gaida copyबर्दिया, १९ फागुन । बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा गैँडा स्थानान्तरण गरिएको छ । विश्व वन्यजन्तु दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एउटा गैँडा बर्दिया निकुञ्जमा बुधबार स्थान्तरण गरिएको बर्दिया निकुञ्जले जनाएको छ । वनमन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्रराज खरेलको उपस्थितिमा एउटा गैँडा बबई उपत्यकामा छोडिएको छ ।

रत्न राजमार्गमा पर्ने बबई पुलनजिक चेपाङबाट झन्डै ६ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रको बबई उपत्यकामा गैँडा छाडिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । बुधबार ३ वटा गैँडा स्थान्तरण गरिने भनिए पनि एउटा मात्र गैँडा स्थानान्तरण गरिएको छ । नेपाल सरकारको निर्णयअनुसार बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा १५ वटा गैँडा स्थानान्तरण गरिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जबाट २२ फागुनमा थप २ र फागुन मसान्तभित्र ५ वटा गैँडा ल्याइने निकुञ्जले जनाएको छ । बाँकी क्रमबद्ध रूपमा ल्याइनेछ । बर्दियामा गैँडाका लागि सुरक्षाको विशेष तयारी गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

नेपाली सेनालाई गैँडा अनुगमनको लागि तालिमसमेत दिइएको छ । बर्दिया निकुञ्जको बबई उपत्यकामा झन्डै ६ सय हेक्टर घाँसेमैदान गैँडाका लागि व्यवस्थापन गरिएको र १० वटा पानीका घोलसमेत निर्माण गरिएको छ । बबई क्षेत्रमा जाने बाटोसमेत नभएकाले अहिले ६५ किलोमिटर वनपथ निर्माण गरिएको छ ।

यस्तै बबई क्षेत्रमा मात्रै १२ वटा सुरक्षा पोस्ट निर्माण गरिएको छ । गैँडा अनुगमनका लागि सुरक्षा पोस्ट विस्तार गरी बर्दिया निकुञ्जमा अहिले सेनाका ३० वटा पोस्ट पुगेकाले सुरक्षामा कुनै कमी नहुने निकुञ्जको भनाइ छ । बर्दिया निकुञ्जमा अहिले २९ वटा गैँडा रहेको तथ्यांक छ । यसअघि पटकपटक गरी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका ७० वटा गैँडा बबईमा र १३ गैँडा कर्णाली नदीतटीय क्षेत्रमा छाडिएको थियो ।

प्रतिक्रिया