झापाका अधिकांश ग्यास डिपो मापदण्डविपरीत

काठमाडौं, १८ फागुन । झापाका अधिकांश ग्यास डिपोले सरकारी नियमको बेवास्ता गरेको पाइएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम गरिरहेका शाखा अधिकृतहरूको टोलीले जारी राखेको बजार अनुगमनका क्रममा यस्तो फेला परेको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय झापासमेत रहेको बजार अनुगमन टोलीले २ सातादेखि झापामा बजार अनुगमन तीव्र पारेको जनाइएको छ ।

अनुगमनका क्रममा झापाको बिर्तामोड, दमक, भद्रपुर, चन्द्रगढी, मेचीनगरलगायत बजारका अधिकांश डिपोमा ग्यास जोख्ने मेसिन फेला नपरेको टोलीमा सहभागी शाखाअधिकृत गिरिराज भट्टराईले जानकारी दिए । ग्यास पसलमा आगो लाग्न सक्ने हुँदा निभाउन प्रयोग हुने साधन राख्नुपर्ने, वाणिज्य कार्यालयमा ग्यास डिपो दर्ता गर्नुपर्ने, ग्यास चुहावट रोक्न सिल दुरुस्त राख्नुपर्ने जस्ता कार्यविधि अधिकांशले पालना नगरेको पाइएको उनले बताए । टोलीले भाँडाकुँडा बेच्ने भनी दर्ता गरेको पसलमा पनि विनाइजाजत ग्यास बेचेको फेला पारेको हो ।

बजार अनुगमनका क्रममा बिर्तामोड नगरपालिकामा म्याद गएका सिलिन्डरको बिक्री भएको पाइएको छ । सिलिन्डरको घाँटीनेर हुने संकेत (जस्तै २०२० ए) ले सन् २०२० को सुरुका ३ महिनासम्म म्याद रहेकोे जनाउँछ । यस्तै त्यहाँ हुने अल्फाबेट बी, सी र डीले क्रमशः ३–३ महिना जनाउँछ । तर, यसबारे उपभोक्ता सचेत नरहेको पत्ता लागेको झापा घरेलु कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बूले बताए । म्याद गएको ग्यास सिलिन्डर विष्फोटन हुने, चुहिने खतरा हुने उनले जानकारी दिए । अनुगमन टोलीले उपभोक्तालाई म्याद हेरेर सिलिन्डर किन्नसमेत आग्रह गर्ने गरेको छ ।

प्रतिक्रिया