सरकारले दिने ऋणमा युवा किसान आकर्षित

काठमाडौं, १८ फागुन । युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्न थालेको छ । हालसम्म साढे १३ सय किसानले सहुलियत दरमा १ अर्ब रुपैयाँ ऋण लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि राष्ट्र बैंकले ९७ लाख रुपैयाँ ब्याज अनुदान दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

सुरुवाती दिनहरूमा सरकारको यो कार्यक्रममा आकर्षण नदेखिए पनि पछिल्लो समय किसान आकर्षित भएको उनको भनाइ छ । युवालाई कृषि क्षेत्रमा आकर्षित र प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत दरमा कर्जा दिने व्यवस्था मिलाएको थियो । ‘म राष्ट्र बैंकमा आउँदा ३÷४ जना युवा किसानले मात्रै सहुलियत दरको कर्जा लिएका थिए,’ गभर्नर डा. नेपाल भने, ‘तर, अहिले साढे १३ सय किसानले १ अर्ब रुपैयाँ ऋण लिइसकेका छन् भने ९७ लाख रुपैयाँ ब्याज अनुदान दिइएको छ ।’

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ०७१÷७२ को बजेट भाषणमार्फत युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । कुल १० प्रतिशत ब्याजदर तोकेर सरकारले ४ प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको थियो ।

बजेट आएको ४ महिनापछि ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–०७१’ लागू गरी ऋण लगानी गर्न सुरु गरिएको थियो ।

कार्यविधिअनुसार महानगरपालिका र उप(महानगरपालिका बाहिरका २१ देखि ४५ वर्षका किसानलाई मात्रै बैंकबाट ब्याज अनुदान उपलब्ध गराइनेछ ।

ब्याज अनुदानमा पाउन युवाले तरकारी, बिउविजन, पुष्प व्यवसाय, पशुपंक्षी पालन, फलफूल, दुग्ध व्यवसाय, मत्स्यपालन, च्याउ उत्पादन, पशु वधशाला एवं मासुजन्य उत्पादनलगायत कृषि व्यवसाय गर्नुपर्ने हुन्छ । साथै सरकारले समयसमयमा क्षेत्रहरू थप गरी व्याज अनुदान दिने कार्यविधिमा उल्लेख छ ।

किसानले आफ्नोनजिकै रहेको बैंकको शाखामा गएर सहुलियत दरको ऋण लिन आवेदन दिनुपर्छ । प्राप्त निवेदनउपर कर्जा विश्लेषण तथा सम्भाव्यता अध्ययन गरी ऋणालीले ऋण तिर्न सक्छ भन्ने विश्वास लागेमा मात्रै बैंकले ऋण दिनेछ । यसरी बैंकबाट एउटा किसानले १ करोड रुपैयाँसम्म सहुलियत दरको ऋण लिन सक्नेछन्, उक्त ऋण पाँच वर्षमा तिरिसक्नुपर्नेछ ।

कार्यविधिअनुसार जुन उद्देश्यका लागि कर्जा लिइएको हो, त्यही उद्देश्यका लागि मात्र कर्जा लगानी गर्नुपर्ने हुन्छ । अन्य क्षेत्रमा लगानी गरे ब्याज अनुदान नदिइने र सावाँब्याजसहित सम्पूर्ण रकम तुरुन्त फिर्ता गर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया