सिरियाली युद्धविराम स्वागत

दमासकस, १६ फागुन । सिरियामा शुक्रबारको मध्यरातीदेखि सुरु भएको युद्धविराम पालना भएकोमा संयुक्त राज्य अमेरिका र रसियाले स्वागत गरेका छन् । आइतबार अमेरिकी र रसियाली विदेशमन्त्रीबीच फोनवार्ता भएको थियो । सो वार्ताका क्रममा सिरियामा युद्धविराम लागू भएको र त्यसको पालना भएको भन्दै त्यसको स्वागत गरिएको हो ।

उनीहरूले सो विषयमा गरिएका अनुगमनहरूको रिपोर्ट लिएको र सोही बमोजिम सरकार तथा विद्रोही तर्फबाट नै देशमा शान्तिको पहलस्वरूप कुनै हिंसात्मक कार्य नगरेको पाइएको बताइएको छ । संयुक्त राज्य अमेरिका र रसियाको विशेष पहलमा सुरु भएको यस युद्धविरामको शुक्रबार मध्यरातीदेखि नै अनुगमन थालिएको हो ।
अमेरिकी विदेशमन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले यस विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा उनीहरूले आगामी दिनमा सिरियामा शान्तिका लागि थप पहल के कसरी गर्ने भन्ने बारेमा पनि कुराकानी गरेको बताइएको छ ।

उनीहरूबीचको वार्ताका क्रममा आगामी केही दिनमा नै सिरियाली सहयोग समूहको बैठक राखेर युद्धविरामको अनुगमनका साथै शान्तिवार्ताको पहल के कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने विषयमा सहमति भएको पनि जानकारी दिइएको छ ।

एएफपीका समाचारदाताले आइतबार सिरियाली राजधानी दमासकसबाट दिएको समाचारमा युद्धविरामको सुरुआत भएको मध्यरातीदेखि आइतबारसम्म कुनै हिंसाका घटना भएका छैनन् र सरकारी एवं विद्रोही पक्षबाट नै यसका लागि संयमता अपनाएको देखिएको छ ।

यस युद्धविरामलाई इमानदारीका साथ पालना गर्न संयुक्त राष्ट्रसंघले पनि विश्वव्यापी रूपमा आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि युद्धविरामका लागि इमानदार रहन आग्रह गर्दै यसको कार्यान्वयन भए नभएको संसारका मानिसले निगरानी गरिरहेको जानकारी गराएका छन् ।

सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिका र रसियाद्वारा प्रस्तावित यस युद्धविरामका लागि आफू सहमत रहेको प्रतिबद्धता बुधबारै व्यक्त गरेको जनाइएको छ ।

सिरियामा विद्रोह गरिरहेका विपक्षीहरूले पनि यस विषयमा सहमति जनाएका छन् । उनीहरूले सरकारी सेनाले गर्ने गरेका हवाई हमला रोक्नुपर्ने, देशभरि नै आवश्यक परेको मानवीय सहायतासम्बन्धी नागरिकलाई सहयोग पु¥याउन दिनुपर्ने जस्ता सर्त राखेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यो अवस्थासम्म ल्याइपु¥याउनका लागि मिहिनेत गर्ने अमेरिका र रसियालाई पनि विशेष धन्यवाद दिएका छन् ।

सिरियामा गएको करिब ५ वर्षदेखि हिंसा जारी रहेको छ । त्यहाँको गृहयुद्धमा परी २ लाख ७० हजारभन्दा बढी सर्वसाधारण एवं सुरक्षाकर्मीको ज्यान गएको मानवअधिकारीवादी समूहले जनाएको छ ।

प्रतिक्रिया