कविता : मुर्कुटा

kosi kinare copy
कोसी किनारे

सकभर तिमी
दुवैकान बाख्राको जस्तै
चनाखोमा ठाडोठाडो पारेर हिँड्नु
अचेल सतर्कमा छन्
मेरा छिमेकी ससाना बालकहरू ।
यी बालकहरूले पढेका छन्
च्वेगे, माक्स, माओ
र जानेका छन्
संसार परिवर्तनको क्रान्तिहरू
र पढेका छन् यी बालकहरूले
विज्ञान, अणु, परमाणु
र जानेका छन्
संसार सिध्याउने सूत्रहरू ।
अनुष्ठानमा छाम्बाले
जब फलाक्न थाल्छ
डरलाग्दो मुर्कुटाको आख्यान
तब तिम्रो त्यो कालो गाडी
सडकमा गुड्ने बित्तिकै
यी छिमेकी बालकहरू
हातमा ढुंगा लिएर झर्छन्
त्यो तिमी हिँड्ने सडकमा ।
र तिम्रो त्यो
कालो गाडी भित्रको
त्यो मुर्कुटे
तिम्रो आकृतिलाई
ढुंगाले हानी मार्न चाहान्छन ।

प्रतिक्रिया