राजकुमार ह्यारी ७ चैतमा आउने

काठमाडौं, १३ फागुन । बेलायती राजकुमार ह्यारी आगामी २० मार्चमा नेपाल भ्रमण आउने निश्चित भएको छ । उनी २३ मार्चसम्म नेपाल भ्रमणमा रहनेछन् । केन्जिङ्टन प्यालेसले बिहीबार ट्वीटर र १ विज्ञप्तिमार्फत भ्रमण मिति तय भएको जानकारी दिएको हो । यसअघि आउँदो वसन्त ऋतुमा पहिलो पटक ह्यारीले नेपाल भ्रमण गर्ने जानकारी मात्र दिइएको थियो ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । साथै उनले भूकम्पबाट प्रभावितहरूलाई भेटेर पुनर्निर्माणमा भइरहेका प्रयासहरू समेत बुझ्ने प्यालेसले जनाएको छ ।

अफगानिस्तानमा गोर्खाहरूसँगै काम गरेका राजकुमार ह्यारीले पोखराको ब्रिटिस क्याम्पसमेत भ्रमण गर्ने जनाइएको छ । त्यसक्रममा उनले गोर्खा भर्ती प्रक्रियाबारे जानकारी लिने विज्ञप्तिमा उल्लेख छ । भूकम्पपछि गोर्खाहरूबाट स्थानीय समुदायका लागि भएका गतिविधिबारे समेत ह्यारीले जानकारी लिनेछन् ।

उनले सधैँ ब्रिटिश गोर्खा सैनिकको खुलेर प्रशंसा गर्दै आएका छन् । अफगानिस्तान युद्धमा गोर्खाहरूसँगै दुईपटक अग्रपंक्तिमा लडेका ह्यारीले आफू गोर्खाहरूसँग रहँदा सबैभन्दा बढी सुरक्षित महसुस हुने बताउँदै आएका छन् । ह्यारीले नेपालको प्राकृतिक रसस्वादनसमेत गर्नेछन् । उनले राष्ट्रिय निकुन्ज र ट्रेकिङ जानेसमेत तय गरेका छन् ।

एक विज्ञप्तिमा दरबारका प्रवक्ताले ह्यारी पहिलोपटक नेपाल भ्रमण गर्न ज्याँदै लालयित भएको बताएका छन् । बेलायत र नेपालले कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष गाँठ मनाइरहँदा ह्यारीले २ देशबीचको मजवुत सम्बन्ध र नेपालीले दिने आतिथ्यको समेत अनुभव लिने जनाइएको छ ।

यसअघि बेलायती महारानी एलिजावेथ द्वितीय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्ससहित बेलायती मन्त्रीहरूको नेपाल भ्रमण भइरहे पनि बेलायती प्रधानमन्त्रीको भने नेपाल भ्रमण हुन सकेको छैन ।

प्रतिक्रिया