सुरक्षा परिषद्द्वारा निन्दा

जेनेभा, १२ फागुन । सिरियाको राजधानी दमासकस र होम्स सहरमा गत आइतबार भएका आतंककारी आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको परिषद्बाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस आक्रमणमा परी १ सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । यस आतंककारी आक्रमणको जिम्मा इस्लामिक स्टेट्स (आइएस) का लडाकू समूहले लिएको छ । मस्जिदको नजिकै गरिएका हमलामा ती सर्वसाधारण मारिएका हुन् ।

सिरियाली प्रहरीका अनुसार भने यस आक्रमणमा १ सय ७८ जना घाइते भएका जनाएको छ । घाइते हुनेमा बालबालिका र महिलाको संख्या धेरै रहेको जनाएको छ । गत जनवरी महिनामा पनि सोही क्षेत्रमा नै आइएसले यस्तै हमला गरेको थियो । उक्त आत्मघाती हमलामा परी कम्तीमा पनि ७९ जना नागरिक मारिएका थिए । बेलायतसँग आवद्ध एक अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले यस आक्रमणमा मारिएका सबै सर्वसाधारण नागरिक रहेका जनाएको थियो ।

सन् २०१४ को अक्टोबर महिनामा होम्स सहरको एक विद्यालयमा भएको आक्रमणमा ४८ जना बालबालिकाको मृत्यु भएको थियो । सिरियामा आगामी शनिबारदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरिएको छ । आगामी शनिबारदेखि युद्धविरामका लागि सरकार र विद्रोही पक्षलाई सो प्रस्ताव गरिएको हो ।

सो प्रस्ताव संयुक्त राज्य अमेरिका र रसियबाट भएको हो । तर, यस विषयमा सिरियाली सरकार र विपक्षीका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन । यस प्रस्तावले सिरियामा आतंककारी क्रियाकलाप मच्चाउँदै आएका इस्लामिक स्टेट्स र अल नुस्रा फन्टका बारेमा भने केही बोलेको छैन । संयुक्त राज्य अमेरिका र रसियाद्वारा जारी विज्ञप्तिमा आगामी शुक्रबारको मध्यरातीदेखि सिरियामा युद्धविराम सुरुहुने जनाएका छन् ।

यसपटकको यो युद्धविराम विपक्षी तथा सरकारी सेनाकै तर्फबाट पालना होला र सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि शान्तिको सार्थक प्रयास सफल होला भन्नेमा धेरैको आशंका नै रहेको बताइन्छ ।

प्रतिक्रिया