नागरिक वडापत्र व्यवस्थित गरिने

nagarik badapatraदोलखा, ८ फागुन । सरकारी निकायले दिने सेवा तथा सुविधाबारे सर्वसाधारण सेवाग्राही नागरिकलाई जानकारी दिन कार्यालय परिसरमा राखिने नागरिक वडापत्रलाई थप व्यवस्थित गरिने भएको छ ।

विनासकारी भूकम्पका कारण भत्किएका जिल्लाका सरकारी कार्यालय नयाँ स्थानमा सरेसँगै नागरिक वडापत्र नराखेको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नागरिक वडा पत्र व्यवस्थित गर्न सुरु गरेको हो । गत २ फागुनमा बसेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूको बैठकले नागरिक वडापत्रलाई तत्काल व्यवस्थित गर्ने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘सेवाग्राही नागरिकलाई सुशानसको प्रत्याभूति गराउनका लागि सबै कार्यालयले नागरिक वडापत्र अनिवार्य राख्नुपर्छ ।’ प्रजिअ लामिछानेले भने ।

जिल्लाका सबै कार्यालयको नागरिक वडापत्रलाई संकलन गरी पुस्तकको रूपमा प्रकाशन गरी सर्वसाधारणलाई वितरणसमेत गरिने प्रजिअ लामिछानेले बताए । हरेक गाउँ विकास समितिमासमेत पुग्ने गरी नागरिक वडापत्र वितरण गर्ने जिल्ला प्रशासन कार्यालयको योजना रहेको प्रअिज लामिछाने बताए । जिल्लामा सुशासनका क्षेत्रमा कार्यरत गैर सरकारी निकायसँग सहकार्य गरी नागरिक वडापत्र प्रकाशन गरिने भएको छ । जिल्लामा सुशासन तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएको मानवअधिकार सचेतन तथा विकास केन्द्र नेपाल दोलखाले नागरिक वडापत्र छपाइका लागि सहकार्य गर्ने भएको छ । सर्वसाधारणलाई वितरण गर्न नागरिक वडा छपाइका लागि सहकार्य गर्ने केन्द्रका अध्यक्ष होम पाठकले बताए ।

भूकम्पपश्चात कार्यालय व्यवस्थित गर्न नसकेका कारण जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयलगायत जिल्लाका अब्बल कार्यालयमा समेत अहिले नागरिक वडापत्र छैन । अन्य जिल्लामा ध्वनिसहितको नागरिक वडापत्रको अभ्यास सुरु भइसक्दा पनि यस जिल्लामा भने परम्परागत नागरिक वडापत्रलाई समेत व्यवस्थित गर्न नसक्दा सेवाग्राही नागरिक भने आक्रोशित हुने गरेका छन् । जिल्लामा सुशासनको अवस्थाका बारेमा छलफल गर्न कालिञ्चोक सामुदायिक एफएमले बिहीबार सदरमुकाम चरिकोटमा आयोजना गरेको नागरिक बहस कार्यक्रममा सहभागी सर्वसाधारणले नागरिक वडापत्रबारे आफूहरूलाई थाहा नै नभएको सहभागीले बताए । कार्यक्रममा सर्वसाधारण सेवाग्राही उर्मिला श्रेष्ठले नागरिक वडापत्रबारे थाहा नभएकाले सरकारी कार्यालयमा काम लिएर जाँदा झन्झटपूर्ण हुने बताइन् । नागरिक बहस कार्यक्रममा सहभागी सर्वसाधारणले ध्वनिसहितको वडापत्र राख्न सकिएमा निरक्षण र फरक क्षमता भएका सेवाग्राहीलाई पनि सहज हुने बताएका थिए ।

प्रतिक्रिया