बुधबारदेखि पूरा सिलिन्डर ग्यास

काठमाडौं, ३ फागुन । आधा सिलिन्डर ग्यास भर्दै आएका उद्योगीले सहज वितरण हुन नपाउँदै मंगलबारबाट पूरा सिलिन्डर भर्ने तयारी गरेका छन् । उद्योगीले ४ फागुनबाट पूरा सिलिन्डर ग्यास भर्ने तयारी गरेको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले बताए ।

मन्त्रालयले उद्योगीले भर्दै आएको आधा सिलिन्डरबाट पूरा अर्थात् १४ दशमलव २ किलो भर्न निर्देशन दिन भोलि छलफल राखेको उनले बताए । यो निर्णय पारित भएसँगै उपभोक्ताले करिब ५ महिनापछि बुधबारबाट पूरा सिलिन्डर ग्यास पाउने घिमिरेको तर्क छ ।

बुधबारबाट पूरा सिलिन्डर ग्यास बजारमा आए पनि सहज रूपमा उपभोक्ताले पाउन भने अझै २ महिना लाग्ने घिमिरेले बताए । उपभोक्ताको सहजताका लागि आफूहरूले बारम्बार पूरा सिलिन्डर भर्न पाउँ भनी निवेदन दिएको उनले बताए । हाल भने नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले पूरा सिलिन्डर भर्न अनुमति दिने तयारी गरेको घिमिरेले बताए । आधा सिलिन्डर ग्यास बजार पठाउँदा ढुवानी लागत महँगिन गएको र सर्वसाधारणले पनि चाँडोचाँडो माग गरेकाले पूरा सिलिन्डर भर्ने तयारी गरेको घिमिरेले बताए ।

नाकाबन्दीका कारण अभाव भएपछि उद्योगीले एउटा सिलिन्डरमा ७ दशमलव १ केजी ग्यास भर्दै आएका थिए । कतिपय उद्योगीले भने सिलिन्डरमा १४ केजी नै भर्न थालिसकेको जनाएका छन् । भारतले लामो समयसम्म गरेको नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै गरी ग्यास आए पनि यो बीचको अन्तर सहज हुन समय लाग्ने घिमिरेको तर्क छ । सामान्य अवस्थामा नेपालमा मासिक ३३ हजार मेट्रिक टन ग्यासको माग भए पनि अहिले अभावले यो माग बढ्ने उनको तर्क छ ।

‘भारतले नाकाबन्दी खोलेसँगै अहिले दैनिक मागको ५० प्रतिशत इन्धन आइरहेको छ’, घिमिरेले भने, ‘यो आयातको मात्रा मासिक ५० हजार मेट्रिक टन बनाउन सकिएमा अबको २ महिनामा उपभोक्ताले सहज रूपमा ग्यास पाउँछन् ।’

घिमिरेका अनुसार अहिले नेपालमा ६५ लाख सिलिन्डर भए पनि बजारमा १० लाख मात्र भरिएका अवस्थामा छन् । ‘अझै पनि ५५ लाखभन्दा बढी सिलिन्डर खाली छन्’, घिमिरेले भने, ‘त्यसैले पनि आयातको मात्रा नबढुन्जेल सहज हुन्छ भन्न सकिन्नँ ।’ ‘हामीले नै सुरुमा सरकारसँग आधा ग्यास भरेर बजारमा पठाउने प्रस्ताव गरेका हौँ, अब आपूर्ति बढेको छ । त्यसकारण पूरा सिलिन्डर बजारमा पठाउने तयारीमा छौँ,’ उनले भने ।

यसका लागि आपूर्ति मन्त्रालय तथा निगमलाई पत्र पठाइएको बताउँदै उनले सम्भवतः बुधबार नै बजारमा पूरा भरिएका ग्यास आउने बताए ।

आधा सिलिन्डरको ढुवानी खर्चभन्दा पूराको खर्च कम हुन्छ’ उनले भने ‘आधा सिलिन्डर धेरैपटक बजारमा लैजानुपर्छ र खर्च महँगिन्छ ।’ यसकारण मन्त्रालयले पूरा ग्यासमा कुनै रोक गर्न नहुने घिमिरेले बताए ।

आपूर्ति सचिव विष्णु लम्सालका अनुसार यस विषयमा मन्त्रालयमा भोलि उद्योगीसँग छलफल भएको हुँदा निर्णय भोलि नै हुनेछ । अहिले नै आयात र बजार अभावकोे मात्रालाई अध्ययन नगरी उद्योगीलाई पूरा सिलिन्डर बजारमा ल्याउन अनुमति दिने अवस्थामा आफू नरहेको लम्सालले बताए । आयातको मात्रा बढेकाले यस विषयमा भोलि नै निर्णय हुने उनको भनाइ छ । उद्योगीले भने जस्तै गरी बजारमा ५५ लाख ग्यास सिलिन्डर खाली भएको मन्त्रालयले स्वीकार गर्न नसक्ने उनले बताए ।

लम्सालका अनुसार ५० प्रतिशत ग्यास सिलिन्डर खाली भएकाले आयातको मात्रा बढाएर भए पनि छिटोभन्दा छिटो सहज गर्ने तयारीमा रहको लम्सालले बताए । वीरगञ्ज नाका खुलेसँगै अहिले सामान्य अवस्थामा आउने परिमाणको ६० प्रतिशत आयात भइरहेको छ । यो मात्रा पनि बिस्तारै बढदै जाने लम्सालले बताए ।

त्यस्तै नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने अहिले दैनिक ४० वटा जति ग्यास बुलेट आइरहेका छन् । सामान्य अवस्थामा दैनिक ५५ बुलेट नेपाल आउने गर्छ । उद्योगीसँग छलफल गरेर आधा कि पूरा भन्ने विषयमा निर्णय तत्काल नै हुने उनले बताए । अहिले हल्दिया र बरुणीबाट दैनिक १५ वटाको दरले ग्यास बुलेट आइरहेको र मथुराबाट १० बुलेट आइरहेको घिमिरेले बताए । अब दिन प्रतिदिन गर्दै शतप्रतिशन नै इन्धन आयात हुँदै जाने उनले बताए ।

प्रतिक्रिया