घरबहाल करबाट एक अर्ब उठ्नै बाँकी

anchoring copyकाठमाडौं, २ फागुन । आफ्नो भवन भाडामा दिएका सरकारी संस्थाले १ अर्ब रूपैयाँ घरबहाल कर तिरेका छैनन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफ्ना भवन भाडामा लगाएका राज्य नियन्त्रित ती संस्थाले नै कानुन अनुसार कर नबुझाएका हुन् ।

यस्ता संस्थाले आफ्ना भवनहरू व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका छन् । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित केही निजी व्यापारिक मल सञ्चालक, होटल व्यवसायी तथा सरकारी संस्थाले बहाल कर नबुझाएका हुन् । यी संस्थाले स्थानीय निकायलाई बहाल कर बुझाउनु पर्छ ।

घर बहाल कर नबुझाउनेमा काठमाडौं मल ४ करोड, सांस्कृतिक संस्थान ४ करोड, वर्ड ट्रेड सेन्टर ७ करोड, ट्रेड टावर थापाथली ७ करोड, साझा भन्डार लिमिटेड १ करोड, अल्फाबिटा कम्प्लेकस १ करोड, केएल टावर ६० लाख, काठमाडौं बिजनेस पार्क ५ करोड, काठमाडौं प्लाजा ५ करोड, नेपाल विद्युत् प्राधिकरण १६ करोड, क्षयरोग निवारण संस्था ३ करोड, एभरेस्ट होटेल, होटेल ¥याडिसन, होटेल शंकर, होटेल याक एन्ड यति, होटेल ल्यान्डमार्क, सांग्रिला होटेलको ५० करोड गरी जम्मा ९५ करोड ६० लाख काठमाडौं महानगरपालिकाकाले पटकपटक यी संस्थालाई बहाल कर तिर्न पत्राचार गरेको भए पनि यस्ता संस्थाले पटकपटक अटेर गर्दै आएका छन् । ‘हामीले सबै संस्थालाई कर तिर्न भनेर धेरैपटक पत्राचार गरिसकेका छौँ’ काठमाडौं महानगरपालिकाका कर अधिकृत महेश काफ्लेले भने, ‘उनीहरूले हामीले भनेको कुरा नमान्दा सेवा सुविधासमेत कटौती भइसकेको छ ।’

महानगरपालिकाका अनुसार सबैभन्दा धेरै नेपाल विद्युत् प्राधिकरणले घरबहाल कर तिर्न बाँकी छ । प्राधिकरणले १६ करोड रूपैयाँ बहाल कर तिरेको छैन । यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गामा बनेको युनाइटेड वल्र्ड ट्रेड सेन्टरले पनि महानगरपालिकालाई ७ करोड रूपैयाँ तिर्न बाँकी छ । यस्तै खाद्य संस्थानको जग्गामा बनेको ट्रेड टावरले पनि ७ करोड रूपैयाँ बुझाउन बाँकी छ ।

काठमाडौं बिजनेस पार्कले पनि ५ करोड रूपैयाँ तिर्न बाँकी छ । यस्तै कमलादीस्थित काठमाडौं प्लाजाले पनि ५ करोड रूपैयाँ कर तिरेको छैन ।

नेपाल सांस्कृतिक संस्थानले पनि ४ करोड रूपैयाँ तिरेको छैन । काठमाडौं मल भाडामा दिएको कर्मचारी सञ्चय कोषले पनि बहाल कर तिरेको छैन । काठमाडौं मल भाडामा दिएको सुरुदेखि कै कर कोषले नतिरेको हो । कोषले महानगरपालिकालाई ४ करोड रूपैयाँ तिर्न बाँकी छ ।

आर्थिक वर्ष ०७०÷७१ मा काठमाडौं महानगरपालिकाले १ अर्ब ४६ करोड राजस्व उठाएको थियो भने यो आर्थिक वर्षमा अधिल्लो वर्षको तुलनामा १५ देखि २५  प्रतिशतसम्म बढाउने लक्ष्य लिएको महानगरपालिकाका कर अधिकृत ध्रुव काफ्लेले जानकारी दिए ।

यी बाहेक पाँचतारे होटलहरू एभरेस्ट होटल, याक एन्ड यती, ¥याडिसन र सांग्रिला होटलले कर तिरेको छैन । यस्तै शंकर र ल्यान्डमार्क होटललेसमेत गरी ५० करोड रूपैयाँ कर तिर्न बाँकी छ ।

प्रतिक्रिया