बिपी राजमार्गले बढायो चहलपहल

काठमाडौं, २५ माघ । बाह्य पर्यटकको आगमन शून्यजस्तै रहे पनि सिन्धुलीमाडीमा होटल व्यवसाय फस्टाउँदै गएको छ । जिल्लालाई बिपी राजमार्गले राजधानी काठमाडौं तथा पूर्वी तराईसँग जोडेपछि सिन्धुलीमाडीमा होटल खुल्ने क्रम बढेको हो । राजमार्गका विभिन्न ठाउँहरूमा समेत साना होटलहरू थपिँदै गएको छ ।

यो राजमार्ग बनेपछि सिन्धुलीमाडीमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । सिन्धुली जिल्लामा अहिले २ सय १५ वटा होटल रहेको होटल व्यवसायी संघको तथ्यांक छ । संघका अनुसार होटल क्षेत्रमा लगानीसमेत थपिँदै गएको छ ।

त्यसो त यस जिल्लालाई लोडसेडिङमुक्त घोषणा गरिनु र हाइड्रो क्षेत्रको संभावना बोकेकाले पनि होटल क्षेत्रमा लगानी गर्न व्यवसायीलाई प्रेरणा मिलेको सम्बद्ध अधिकारीहरू बताउँछन् । विगत ७ महिनादेखि सिन्धुली जिल्लामा लोडसेडिङ हुँदैन । खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माणमा स्थानीयको सहयोग लिन यो जिल्लालाई साउनमा लोडसेडिङमुक्त घोषणा गरिएको हो ।

होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष बद्री कार्कीका अनुसार भएका होटलहरूलाई स्तरीयकरण गर्ने तथा नयाँ थपिने क्रम बढेको छ । आन्तरिक पर्यटकको संख्या बढ्दै गएको र भौगोलिक हिसावले पनि विकासका लागि उपयुक्त रहेकाले जिल्लामा होटलको संख्या बढ्दै गएको उनको भनाई छ । ‘तराईलाई छोटो दुरीमा पहाडी र हिमाली जिल्लासम्म जोड्ने सडक भएकाले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो’, उनले भने ।

आन्तरिक पर्यटकहरूकै कारण खुलेका होटल पनि नाफामै संचालनमा रहेको उनले बताए । ‘बाह्य पर्यटकहरू नगण्य मात्रामा छन्, तर आन्तरिक पर्यटकको संख्या कम छैन’ उनले भने । महाभारत होटल सिन्धुलीमाडीका संचालक हरिकृष्ण श्रेष्ठ पछिल्लो समयमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको महसूस गर्छन् । ‘यस जिल्ला हुँदै काठमाडौं जाने र पहाडी तथा तराईका जिल्लामा जाने सर्वसाधारण प्रायः सिन्धुलीमाडीमा बास बस्ने हुँदा पनि होटल क्षेत्र फस्टाएको उनको बुझाई छ ।

प्रतिक्रिया