सोह्र वित्तीय संस्था समस्याग्रस्त : राष्ट्र बैंक

काठमाडौं, २३ माघ । नेपाल राष्ट्रबैंक समस्याग्रस्त रिजोलुसन महाशाखाले नेपालका १३ वटा बैंक तथा वित्तीय संस्थाहरू समस्याग्रस्त रहेको जनाएको छ । १३ वटामध्ये तीनवटा बैंक र १० वटा वित्तीय संस्था समस्याग्रस्त रहेका छन् ।

यी संस्थामा कैँयन लगानीकर्ता तथा निक्षेपकर्ताको रकम फसेको छ भने कैँयन ऋणीबाट समस्याग्रस्त बनेका संस्थाले ऋण पनि उठाउन सकेका छैनन् । २०६८ सालदेखि समस्याग्रस्त बनेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको हालसम्म पनि स्थिति सुधार हुन सकेको छैन ।

महाशाखाले समस्याग्रस्त वित्तीय संस्थाका खराव कर्जा असुली हुन कठिन भएको जनाएको छ । अधिकांश धितो कमसल र बजारयोग्य नभएको, धितोको मूल्यांकन बजारमूल्य भन्दा बढी गरिएको, ग्रामीण क्षेत्रका खेतवारी तथा भिरालो जग्गा समेत धितो राखेका कारण कर्जा असुलीमा समस्या भएको महाशाखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अहिले समस्याग्रस्त संस्थाहरूमा ८ अर्व ४७ करोड कर्जा उठाउन बाँकी रहेको छ । समस्याग्रस्त घोषणा गर्दा १९ अर्व ९ करोड कर्जा रहेकोमा चालु आर्थिक वर्ष २०७२÷०७३ को असोजसम्म १० अर्व ६३ करोड कर्जा असुल गरेको राष्ट्र बैंकको समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाले जनाएको छ । यस्ता समस्या ग्रस्त संस्थाहरूको खराव कर्जा ८८ प्रतिशतसम्म पुगेको छ ।

समस्याग्रस्त बैंक तथा बित्तिय संस्थाहरूमा गोर्खा डेभलपमेन्ट बैंक, नेपाल सेयर मार्केट एण्ड क्यापिटल फाईनान्स, क्रिस्टल फाईनान्स, ललितपुर फाईनान्स, हिमालयन फाईनान्स लिमिटेड, नारायणी डेभलपमेण्ट बैंक, क्यापीटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स, कुवेर मर्चेन्ट फाईनान्स, बल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, नेपाल फाईनान्स, जनरल फाईनान्स र अरूण फाईनान्स रहेका छन् ।

केन्द्रीय बैंकले ०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरेर यस्ता समस्याग्रस्त संस्थाहरूको निगरानी गर्दै आएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि ती वित्तीय संस्थाले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउदैनन् ।

समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडले २ अर्ब ५२ करोड २ लाख ५० हजार रूपैयाँ कर्जा उठाउन बाँकी रहेको छ । त्यस्तै सबैभन्दा कम भने हिमालय फाइनान्सले ९ करोड ७० लाख ४५ हजार रूपैयाँ कर्जा उठाउन बाँकी छ ।

यसैगरी समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी गोर्खा डेभलपमेन्ट बैंकले एक अर्व ७ करोड निक्षेप रकम फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सबैभन्दा कम जनरल फाइनान्सको ४ करोड १५ लाख रूपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ ।

यस्ता समस्याग्रस्त संस्थाको कर्जा उठाउन धितो नै बेच्नुपर्ने स्थिति छ । केहिले भने अहिले सम्मको ब्याज केहि मिनाहा हुन्छ कि भनेरसमेत कुरिरहेको समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् ।

उनले भने, ‘यस्तो कर्जा उठिनै रहेको स्थिति छ, कर्जा उठाउन धितो नै बेच्नुपर्ने स्थिति छ भने कैयन ऋणीले पेनाल ब्याज माफि हुन्छ कि भनेर कुरिरहेको पाउन सकिन्छ जसले गर्दा द्रुत गतिमा कर्जा उठ्न सकेको छैन ।’

राष्ट्र बैंकले हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड डेभलपमेन्ट बैंक खारेजीमा गएका छन् । बाँकी १३ वटा वित्तीय संस्था समस्याग्रस्तमध्ये गोर्खा डेभलपमेन्ट बैंक र नेपाल सेयर मार्केट एण्ड फाइनान्समा राष्ट्र बैंकले आफ्नो व्यवस्थापन समूह पठाएर सञ्चालन गरिरहेको छ ।

समस्याग्रस्त घोषणा गर्दा यी वित्तीय संस्थामा १५ अर्व ९ करोड निक्षेप रहेकोमा चालु अािर्थक वर्ष २०७२÷०७३ को असोजसम्ममा ९ अर्व १६ करोड फिर्ता गरिसकेका छन् । पछिल्लो समयमा समस्याग्रस्त संस्थामा रकम नहुदाँ निक्षेप फिर्ता हुन नसकेको राष्ट्र बैंकले जनाएको छ ।

तर समस्याग्रस्त घोषणा गर्दा भने यस्ता सस्थाको कुल कर्जा १९ अर्ब ९ करोड ९२ लाख ८१ हजार रूपैयाँ उठाउन बाँकी रहेको थियो । उठाउन बाँकी कर्जा ८ अर्ब १९ करोड ६६ लाख ८२ हजार कायम भएको छ ।

प्रतिक्रिया