खुल्यो रक्सौल नाका

birgunj_nakaकाठमाडौं, २२ माघ । भारतको अघोषित नाकाबन्दी र नाकामा मधेसी मोर्चाको धर्नाका कारण करिव पाँच महिनादेखि ठप्प रहेको वीरगञ्जको रक्सौल नाका शुक्रवारबाट खुलेको छ । स्थानीयबासी र नेपाल तथा भारत दुवैतर्फका व्यापारीले शुक्रवार सो नाका खोलेका हुन् । यससँगै मालबाहक कन्टेनर र ट्यांकरहरू नेपाल आउन थालेका छन् ।

वीरगञ्जका स्थानीयबासी र भारत रक्सौलका ब्यापारीहरूले मितेरी पुलमा मधेसी मोर्चाका धर्नाहरूले टाँगेको भत्काएका छन् भने त्यहाँ राखिएको बाँसको ढाट पनि हटाइएको छ । लगतै मालबाहक कन्टेनरहरू निर्वाधरूपमा नेपाल भित्रिएका छन् ।

मोर्चाका केही नेता तथा कार्यकर्ता नाकामा पुगे पनि स्थानीय तथा व्यापारीहरू लाठी लिएर बसेका कारण बन्दकर्ताहरूले नाका बन्द गराउन सकेनन् । अन्यत्र कतै नाकाबन्दी नभएपनि वीरगञ्जमा लगातार बन्द भइरहेको भन्दै स्थानीयबासीले केही दिनदेखि विरोध गर्दै आएका थिए । उनीहरूले नाका खोल्न दबाव दिइरहेका थिए । तर, आन्दोलनकारी मधेसी मोर्चाले सुनुवाइ नगरेपछि शुक्रबार स्थानीयबासी र व्यापारीले रक्सौल–वीरगञ्जको मितेरी पुलमा धर्नाकारीले टाँगेको टेन्ट हटाएर नाका खुला गरेका हुन् ।

कसरी खुल्यो नाका ?
पहिलो कारण भारत नै हो विगत केही दिनदेखि भारतीय अधिकारीहरूले नेपालतर्फ आउने गाडीलाई ‘कस्टमस क्लियरेन्स’ दिन सुरु गरिसकेका थिए । भारतका भन्सार कर्मचारीले नीति बदलेसँगै धेरैलाई अब नाकावन्दी टिक्न सक्दैन भन्ने लाग्न थालिसकेको थियो ।

दोश्रो, धेरै दिनदेखिको बन्दले थाकेको भएको मधेस आन्दोलन । कालाबजारीमार्फत केही मानिस मालामाल भए पनि नेपाल –भारतबीचको प्रमुख नाका बन्द भएका कारण ब्यापार–व्यवसाय र रोजगारी चौपट भएको थियो । नाकावन्दीलाई निरन्तरता दिएपनि थप केही हुने देखिएन । तस्करीका कारण आन्दोलनकारी र आन्दोलनका समर्थकले विश्वास गुमाउँदै गए भने आन्दोलनको स्वरूप बदल्नु पर्ने आवाज पनि चर्को रूपमा उठ्दै गयो । जाडो सुरु भएसँगै नाकामा धर्ना दिनेको संख्या अत्यन्तै न्यून हुँदै गएको थियो ।

तेश्रो विरगन्ज नाकावन्दीको जिम्मा लिएका मोर्चा नेता राजेन्द्र महतोले बिहीबार नै संचारमाध्यमलाई भनेका थिए, ‘म आफै गएर विरगन्ज नाका खोल्छु ।’ अन्य नाका सुचारु भएको अवस्थामा विरगन्ज नाका बन्द गर्नुको औचित्य नहुने भन्ने उनको अभिव्यक्तिले कार्यकर्तामा बचेको आत्मविश्वास पनि बाँकी रहेन । शुक्रबार ४ जना मोर्चा कार्यकर्ताले मात्र धर्ना दिइरहेका थिए । ठूलो संख्यामा आएका भारतीय ब्यापारीहरू र स्थानीय मानिसले मोर्चाका कार्यकर्ताले बनाएको पाल हटाए र नाका संचालनमा आयो ।

मोर्चाका नेता–कार्यकर्तालाई नाकावन्दी ढिलो चाँडो अन्त्य हुन्छ भन्ने लागेपनि शुक्रवारैबाट नाका खुल्छ भन्ने थिएन । उनीहरूका अनुसार अबको दुई÷तीन दिनमा मोर्चाले औपचारिक निर्णय लिने र नाका स्थलमा एउटा ठूलो कार्यक्रम आयोजना गरेर नाकावन्दीमा सहयोग गर्ने विशेषतः भारतीय पक्षलाई धन्यवाद दिएर मात्र नाकावन्दी अन्त्य गर्ने योजना थियो ।

तर, ठूलो संख्यामा आएका भारतीय ब्यापारी, नेपालका यातायात व्यवसायी र स्थानीयले आन्दोलनकारीका पाल हटाएपछि मोर्चाका नेताको केही लागेन । स्थानीयस्तरमा नाकावन्दी विरुद्धको आवाज सशक्त भएका कारण अब भारतीय पक्षले नै नाकाबन्दी नगरेसम्म मोर्चाले आफ्नैतर्फबाट फेरि नाकाबन्दी गर्ने सम्भावना अहिलेका लागि देखिंदैन ।

महतोलाई धन्यवाद !
रक्सौल खुलेलगतै प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धन्यवाद दिएका छन् । शुक्रबार दिउसो वीरगञ्ज नाका खुलेको खबर सार्वजनिक भएसँगै उनीहरूले महतोलाई नाकाबन्दी खोलिदिएकोमा धन्यवाद दिएका हुन् ।

शुक्रवार दिउँसो विराटनगर रहेका बेला महतोलाई प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले टेलिफोन गरेर धन्यावाद दिएको महतो निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले महतोलाई ‘तपाईले नाकाबन्दी खुल्नु पर्छ भनी अभिव्यक्ति दिएको भोलिपल्टै वीरगन्ज नाका खुलेछ’ भन्दै धन्यवाद दिएको स्रोतले जनाएको छ । महतोले बिहीबार बिराटनगरमै अरू सबै नाका खुलाएर वीरगञ्ज नाकामात्र बन्द गर्नुको औचित्य नभएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री र प्रचण्डले महतोलाई छिटो काठमाडौं आएर मोर्चा र तीन दल मिलेर समस्याको समाधान गर्न आग्रह गरेका थिए । महतोले आफ्ना माग र मधेसका मुद्दाप्रति इमानदार हुनुपर्ने बताए । टेलिफोन कुराकानीमा महतोले सीमांकन आफूहरूको प्रमुख मुद्दा भएकाले यसमा सरकार र प्रमुख तीन दलको प्रतिबद्धता आउनुपर्ने बताएका थिए ।

प्रचण्डले सीमांकन सच्याउन आफूहरू तयार रहेको भन्दै महतोलाई जतिसक्दो चाँडो राजधानी आएर समस्याको निकासमा लाग्न आग्रह गरे । प्रचण्डले सम्बादका माध्यमबाट निकास खोज्न सकिने बताएको स्रोतले बतायो । प्रचण्डले फोन गरेको केही समयपछि प्रधानमन्त्री ओलीले महतोलाई फोन गरेका थिए । प्रधानमन्त्रीसंग टेलिफोन संवाद भएलगत्तै महतो काठमाडौं आएका छन् ।

जनकपुरमा अवज्ञा
मधेसी मोर्चासहित विभिन्न आन्दोलनकारी दलले बिहीबारदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरे पनि जनकपुरमा त्यसको अवज्ञा भएको छ । आन्दोलनकारीले आमहडताल घोषणा गरी यातायात, शैक्षिक संस्था, उद्योग, बजारलगायत सबै क्षेत्र बन्द गर्न आह्वान गरेका थिए । संविधानमा हस्ताक्षर गर्ने दलका नेता तथा सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको मोर्चाले कांग्रेस सांसद जिल्ला आएकाले विरोधमा आमहडतालको आव्हान गरेको थियो ।

तर लगातार ६ महिनापछि सामान्य भएको जनजीवनलाई आमहडतालले प्रभाव पार्न सकेन । मोर्चाका कार्यकर्ताले बिहान नगरक्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गर्दासम्म केही पसल बन्द थिए । तर, दिउँसो बजार, वित्तीय संस्था, बैंक र यातायात पूर्ण रूपमा सञ्चालन भए ।

आमहडताल घोषणापछि त्रसित भएका विद्यालय सञ्चालकले नपढाउने भन्दै विद्यार्थीलाई घर फर्काए पनि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको आकस्मिक बैठकले मोर्चालाई शैक्षिक वातावरण प्रभावित हुने गरी बन्द र हडताल नगर्न आग्रह गरेको थियो । विद्यालय खोल्न नदिए चैतसम्म जिल्लाभरिका विद्यालय आफूहरूले नै बन्द गरिदिने चेतावनी एसोसिएसनले दिएको छ । एसोसिएसनका सचिव अवधेश तिवारीद्वारा जारी विज्ञप्तिमा ६ महिना बन्दका क्रममा तराईको शिक्षा क्षेत्र नराम्ररी प्रभावित भइसकेको र यस विषयमा जानकारी हुँदाहुँदै पनि विद्यार्थीको भविष्य नै बर्बाद हुने गरी हडताल घोषणा गर्नु अनुचित रहेको उल्लेख छ ।

माघ २३ गतेसम्ममा सरकार, प्रतिपक्षी, गठबन्धन, मोर्चा तथा आन्दोलित अन्य पक्षले अबआइन्दा विद्यालय क्षेत्र बन्द नगराउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै विज्ञप्तिमा अन्यथा चैतसम्मका लागि आफूहरूले नै विद्यालय सञ्चालन नगर्ने जनाइएको छ ।

मोर्चाले घोषणा गरेको आमहडताल अवज्ञा गर्दै जनकपुरमा यातायात पनि सञ्चालन गरियो । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले अधिकारको आन्दोलनमा हालसम्म आफूहरू सहयात्री भएर हिँडिराखे पनि मोर्चाका शीर्ष नेता केन्द्रमा बसेर एकातर्फ नाका खोल्नुपर्छ, आन्दोलन फिर्ता लिनुपर्छ भनेर वक्तव्य दिने र अर्कोतर्फ जिल्लामा बन्द गराउने कार्यलाई समर्थन गर्न नसकिने बताए । लामो समयपछि यातायात सञ्चालनमा आएकाले अब बन्द नगरिने चौधरीले बताए ।

स्वतःस्फुर्तरूपमा आमहडतालको अवज्ञा भइरहँदा पनि मधेसी मोर्चाका धनुषा संयोजक सञ्जय सिंह भने कांग्रेसका सांसदहरूले धनुषा नछोडेसम्म आमहडताल जारी रहने बताउन टाडेका छैनन् ।

प्रतिक्रिया