कृषिबाट मनग्य आम्दानी

काठमाडौं । आधुनिक कृषि व्यवसायमा आबद्ध भई युवाहरूले मनग्य आम्दानी गर्न थालेका छन् । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले वैदेशिक रोजगार छाडेर कृषि पेसा अँगालेका छन् । लामो समयसम्म वैदेशिक रोजगारीमा भौंतारिएका थापा व्यावसायिक तरकारी खेतीमा लागेपछि जिल्लामै अगुवा कृषकको रूपमा पहिचान बनाउन सफल भएका छन् । विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने हो भने यहीँ राम्रोसँग जीवन जिउन सकिन्छ भनेर वैदेशिक रोजगार त्यागेर कृषि पेसामा लागेको थापा बताउँछन् ।

०४८ सालमा वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थापाले ६ वर्षसम्म विदेशमा बस्दा अपेक्षाअनुसार आम्दानी नभएपछि ०५५ सालदेखि स्वदेश फर्किएर तरकारी खेती सुरु गरेका थिए । उनले भने, ‘पहिले यहाँ आएर थोरै तरकारी लगाएँ । त्यसबाट राम्रै आम्दानी भयो । पछि हिसाब गर्दा विदेशको भन्दा यहीँको कमाइ राम्रो भएको पाइयो ।’

अहिले ९ रोपनी जग्गामा तरकारी खेती गर्दैआएका उनको वार्षिक आय ३ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म हुने गर्छ । थापाले उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारसमेत जितेका छन् । थापाले जस्तै बेनी नगरपालिका–१ लामागराका महेन्द्र बोगटी, भुगानेमा कृषि खेती गर्दैआएका नीरबहादुर थापा र तेजबहादुर किसानले समेत व्यावसायिक कृषि पेसाबाट लाखौँ आम्दानी गर्दै आएका छन् । जिल्लामा पछिल्लो समयमा कृषि पेसामा युवाको आकर्षण बढ्दै गएको छ । घर परिवारसँगै बसेर कृषि पेसा गर्न पाउँदा आनन्दको अनुभूति मिलेको उनीहरूको भनाइ छ ।

कृषकले अहिले गाँजर, काउली, ब्रो काउली, साग, गोलभेँडा बेचिरहेका छन् । उनीहरू जुुगुने, काँक्रो, घिरौँलालगायत तरकारी पनि लगाउँछन् । बेनपा–१ का कृषकहरूले उत्पादन गरेका तरकारी बिक्रीका लागि बजारको समस्या छैन । तरकारी किन्न व्यापारी नै घरमा आउँछन् । उनीहरूको मुख्य बजार भनेको बेनी र बागलुङ हो । बजारको समस्या नभए पनि सोचे अनुसारको बजार मूल्य नपाएको कृषक नीरबहादुरको गुनासो छ ।

उनी भन्छन्, ‘हामीले तरकारी लगेर त बेच्छौँ तर मूल्य व्यापारीहरू दिएकैमा चित्त बुझाएर आउनुपर्छ ।’ विभिन्न गैरसरकारी संस्थामा १५ वर्ष काम गरेका थापाले ५ वर्ष अगाडि बेनपा–१ भुगानेमा ६ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती थालेका हुन् । थापा भन्छन्, ‘खेतीबाट घर व्यवहार राम्रोसँग चलेको छ । आफूलाई चाहिँदा कसैसँग ऋण माग्नु पर्दैन ।’ उनीसँगै तेजबहादुर किसानले पनि ६ रोपनी जग्गा भाडामै लिएर तरकारी खेती सुरु गरेका छन् । उनीहरूले २÷२ जना मानिसलाई रोजगारी समेत दिएका छन् । मिहिनेत र परिश्रम गर्न सकेमा स्वेदशमै आम्दानी गर्न सकिन्छ उनीहरू भन्छन् ।

बेनपा १ लामागराका २९ वर्षीय युवा महेन्द्र बोगटीले घरमै तरकारी खेती गरेर वार्षिक लाखौँ रुपैयाँ आर्जन गर्छन् । गर्न सके स्वेदशमै पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छन् बोगटीले । लामो समयसम्म सञ्चारकर्मीको रूपमा समेत अनुभव सँगालेका बोगटीको अहिले बिहानै उठ्नु, तरकारी लगाएको खेतबारीमा गएर गोडमेल गर्नु, फलफूल तथा तरकारीको स्याहारसुसार गर्नु, तरकारी बोकेर बजार धाउनु दैनिकी बनेको छ । (सौस)

प्रतिक्रिया