नेपाली राष्ट्रियता अखण्डता खतरामा : उपप्रधानमन्त्री मैनाली

panctharmanali copyपाँचथर, १९ माघ । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले पछिल्लो समय नेपालको राष्ट्रियता र अखण्डता खतरामा परेको बताएका छन् । माले महासचिवसमेत रहेका उपप्रधानमन्त्री मैनालीले फिदिममा अगुवा कार्यकर्ताको भेला उद्घाटन गर्दै तराई केन्द्रित राजनीतिक दलका कारण राज्यलाई मुख्य समस्या रहेको बताए ।

उनले तराईमा जुन तवरले राजनीतिक मागहरू आइरहेका छन अन्ततः त्यसले राज्यलाई संकटमा पर्ने बताए । उनले भने, ‘यो ०७ सालदेखिको भारतको कसरत हो । राज्यको अखण्डता कायम राख्ने हो भने तराईमा २ प्रदेश सम्भव छैन । तराईको भूगोललाई पहाडको भूगोलसँग छुट्टाएर बनाइएको प्रदेशको संरचनाले थप समस्या पैदा गर्नेछ ।’ नीति निर्माणको तहमा रहेका नेताहरूलाई समेत भविष्यमा आउन सक्ने समस्याका विषयमा हेक्का नभएकाले हालको समस्यामा उल्झन बाध्यता रहेको उनको भनाइ थियो । उनले दूरदर्शिताको कमी देखिएको बताउँदै भने, ‘मुख्य गरेर छिमेकी मुलुकसँगको सामिप्यता र मनमुटावको भावनाले पछिल्लो समय नाकाबन्दी जस्तो समस्या राज्यमा देखिएको छ । यसमा हामीले सरण परेर होइन आँखामा आँखा जुधाएर नाकाबन्दीलाई हल गर्नुपर्छ ।’

देशले भोगेको समस्या दीर्घकालीन समाधानका लागि दुवै छिमेकी देशलाई समान व्यवहारको आवश्यकता रहेको बताउँदै उनले देशकै आत्मनिर्णयको अधिकार नभएका बेला प्रान्तले आत्मनिर्णयको अधिकार माग्नु उचित नहुने बताए । राज्यले नीति निर्माण गर्ने क्रममा जातीय पहिचानलाई उचित स्थान दिन नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री मैनालीले त्यसलाई संविधान संशोधनमार्फत समाधान गर्न सकिने बताए ।

मंगलबार दिउँसो फिदिम आएका मैनालीले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन् ।

यसैबीच उपप्रधानमन्त्री मैनालीले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयको निरीक्षणसमेत गरेका थिए । जिल्लाभरिको महिलाबालबालिका अपांग, जेष्ठ नागरिकको प्रगति र समस्याहरूको बारेमा बालअधिकार अधिकृत सरस्वती सिवाकोटीले जानकारी दिएकी थिइन् । फिदिममा सुरु भएको जिल्ला भेलाले नयाँ नेतृत्व चयन गर्ने जिल्लासचिव नारायणप्रसाद चौलागार्इंले जानकारी दिए ।

प्रतिक्रिया