सानो व्यवसायबाट ठूलो कमाइ

बागलुङ, १८ माघ । बाग्लुङ धम्जा–३ घर भई सदरमुकाममा व्यवसाय गर्दै आएका दानबहादुर आलेले ‘ससेज सेन्टर’ चलाएर मासिक ३० हजारभन्दा बढी कमाउन थालेका छन् । देख्दा सामान्य लागे पनि पकौडा–ससेज बेचेर यहाँका एक युवाले राम्रो कमाइ गरेका हुन् ।

४ वर्षअघि ८० हजारको लगानीमा सुरु गरेको व्यवसायमा दैनिक सरदर ४ हजार बराबरको कारोबार हुने गरेको छ । साँझपखको समयमा खुल्ने ‘ससेज सेन्टर’मा खाजा खान आउने गरेको सञ्चालक आलेले बताए । आलेले भने, ‘४ हजारको व्यापार हुँदा १ हजार ५ सय जति चोखो नाफा हुन्छ ।’ बेच्ने सामग्री एक घन्टामै तयार हुने हुँदा धेरै समय पनि खर्चन नपर्ने उनको भनाइ छ ।

बिहान र दिनभरको समय अन्य काममा दिन सकिने हुँदा उक्त व्यवसायबाट आफू पूर्ण सन्तुष्ट रहेको आलेले बताए । ‘मेरो कामबाट म पूर्णरूपमा खुसी र सन्तुष्ट छु, यतिको कमाइ गर्न खाडी मुलुक जानु पर्दैन’, आलेले भने, ‘आफ्नै लगानी, आफ्नै मिहेनतमा स्वतन्त्र हिसाबले व्यवसाय गर्न पाइएको छ, महिनाको ३० हजारसम्म कमाइ छ ।’ आलेले सबै परिकार आफैँ बनाउने गरेको पनि बताए । सडकको किनारमा राखिएको ‘ससेज–सेन्टर’ मा साँझपख ग्राहकको भीड नै लाग्ने गर्दछ ।

२७ वर्षीय आलेले कमाउन विदेश जाने सोच नै त्यागेर स्वदेशमै आत्मनिर्भर बन्नतिर लागेको भन्दै कतिपयले यस्तो व्यवसाय गर्न हिच्किचाहवट गरे पनि आलेले भने गौरवको अनुभूति गरेको बताए । बफ, चिकेन ससेज पोखराबाट ल्याउने गरिएको आलेले जानकारी दिए । त्यसबाहेकका परिकार बनाउने सामग्री भने बागलुङमै उपलब्ध हुने गरेको छ ।

बिहान र दिउँसोको समयमा भने आलेले पत्नी अमृता र भाइ धनबहादुसँगै ‘आले फ्रेस हाउस’ पनि चलाउँछन् । ‘ससेज सेन्टर’मा आलेलाई श्रीमती र भाइले पनि आवश्यक पर्दा सघाउने गरेका छन् । पकौडा प्रतिप्लेट ३५ रुपैयाँ, बफ ससेज ३० र चिकेन ससेज ३० रुपैयाँमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया