कांग्रेसलाई अधिवेशन लाग्यो

पोखरा, १६ माघ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका अनुरूप गाउँ तथा नगरपालिकाको निर्वाचन कार्यतालिकाअन्तर्गत निर्वाचनका कार्यक्रम जारिरहेको छ । शुक्रबार जिल्लाका केही गाउँ समिति र नगरका वडामा सर्वसम्मत नेतृत्व चयन भए पनि अधिकांश वडा र गाउँमा आज निर्वाचन हुने पार्टीका जिल्ला निर्वाचन अधिकृत खिमराज पौडेलले जानकारी दिए । केन्द्रीय निर्वाचन समितिले माघ १५ मा गाउँ र नगरको अधिवेशनको कार्यतालिका तय गरे पनि धेरै ठाउँको अधिवेशन शनिबार मात्र हुन लागेको हो । जिल्लामा नगर तथा गाउँका लागि ८१ जना निर्वाचन प्रतिनिधि खटाइएका छन् ।

आन्तरिक विवाद र अन्य समस्याका कारण कतिपय गाउँमा हिजो अधिवेशन हुन नसकेका कारण ती ठाउँमा आज निर्वाचन हुने उनले जानकारी दिए । कतिपय गाविस र नगरका वडामा सहमतिको आधारमा नेतृत्व चयन भएको छ । महाधिवेशनअन्तर्गत जिल्ला समिति र क्षेत्रीय समितिमा आउन चाहनेले मात्र नभई महाधिवेशन प्रतिनिधि बन्न चाहने पनि गाउँ र नगरका वडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने प्रावधानका कारण यतिखेर सबै जसो नेता कार्यकर्ताको ध्यान आआफ्नो गाउँ र वडामा केन्द्रित भएको छ ।

कांग्रेसले संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनाएका र पार्टीको केन्द्रीय समितिमा रहेकालाई भने क्षेत्रीय प्रतिनिधि बन्न नपर्ने व्यवस्था गरेकाले कास्कीका केही नेता भने क्षेत्रीय प्रतिनिधिको चुनावमा प्रतिस्पर्धी भएनन् । दुई वटा मात्र नगरपालिका भएको कास्कीमा लेखनाथ नगरसमितिका लागि भने राजेन्द्रमणि लामिछाने निर्विरोध निर्वाचित भए । उनीसँगै नगर समितिको कोषाध्यक्षमा नारायणप्रसाद पौडेल पनि निर्विरोध निर्वाचित भए ।

झापामा पनि अधिवेशनको रन्को
मेचीनगरमा नेपाली कांग्रेसको सभापतिमा इन्द्रबहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार सभापतिमा बुढाथोकीको मात्र उम्मेदवारी मनोनयन भएको थियो । यसैगरी सचिवमा बुद्ध तिवारीको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । नगर कार्य समिति सदस्यमा टीकाराम धमला, चन्दन गौतम, शशी राई, सुरेन्द्र बुढाथोकी, हस्तबहादुर आङ्देम्बे, यज्ञनिधि न्यौपाने र खगेन्द्र गिरी सर्वसम्मत चयन भए । मेचीनगरका अधिकांश वडा सभापति र क्षेत्रीय प्रतिनिधिमा समेत सर्वसम्मत चयन भएको पार्टी निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले सर्वसम्मत सभापतिलगायत पदमा नेतृत्व चयन गरेर पूर्वको मेचीनगरले सकारात्मक सन्देश प्रवाहित गरेको बताए । त्यसैगरी कांग्रेस बुधबारे गाउँ समितिका सभापतिमा ईश्वरीराज ढकाल र कोषाध्यक्षमा मनेश खनाल निर्विरोध चयन भए ।

प्रतिक्रिया