सौर्य प्रणालीबाट मन्दिरमा खानेपानी

बाग्लुङ । प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा सौर्य लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । १ सय ६५ मिटर तलबाट कालीगण्डकीको पानीलाई सौर्य ऊर्जा प्रणालीबाट मन्दिर क्षेत्रमा ल्याउन लागिएको हो ।

दैनिक २५ हजार लिटरका दरले आपूर्ति हुने पानीलाई विभिन्न प्रयोजनका लागि खर्च गरिने भएको छ । नेपाल सरकारको ८० प्रतिशत र कालिका गुठीको २० प्रतिशत गरी कुल २ करोड ६० लाख रुपैयाँको लागतमा आयोजना बन्न लागेको हो । पूर्वाधार निर्माणको काम भइरहेको र आउँदो वर्षभित्र आयोजना पूरा हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाग्लुङका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए ।

सोलार प्रविधिबाट ‘लिफ्ट’ गरी ल्याइएको पानी नौधारा निर्माण, जलकुण्ड, खानेपानी धारा, शौचालयलगायतमा वितरण गरिने उनले जानकारी दिए । आगामी ५० वर्षलाई पुग्ने गरी आयोजनाको ‘डिजाइन’ गरिएको उनले बताए । मन्दिर परिसरमा हालसम्म ५० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भइसकेका छन् ।

त्यस्तै नौधाराको पनि ५० प्रतिशत काम पूरा भएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । उनका अनुसार आयोजनाअन्तर्गत बन्ने ४ शौचालयमध्ये एउटाको काम ९० प्रतिशत पूरा भइसकेको छ । यही आयोजनाबाट मन्दिर परिसर आसपासको बसोबास क्षेत्रमा रहेको पुरानो खानेपानी आयोजनाको मर्मतसुधार, विस्तार र स्तरोन्नतिसमेत गरिने भएको छ । थप ६ वटा नयाँ धाराको निर्माणसँगै गुठीको वन क्षेत्रमा हुने आगलागी र डढेलो रोक्न २ हजार २ सय मिटरमा पानीको पाइप बिछ्याइने अध्यक्ष खड्काले जानकारी दिए ।

मन्दिर परिसरमा रहेको जलकुण्डमा पनि आश्यकताअनुसार सोही आयोजनाबाट पानी आपूर्ति गरिनेछ । जिल्लाको मालढुंगास्थित कालीगण्डकी किनारमा सोलार पाताबाट ट्याङ्कीमा रहेको मोटरमा ऊर्जा प्रवाह गरी पम्पमार्फत पानी माथि ल्याइनेछ । सोलार प्रविधि र विद्युत् दुवै प्रयोग गरेर पानी पम्पिङ गरिने कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए । गत वर्षदेखि सुरु भएको आयोजनाका लागि सोही वर्ष ७ लाख र यो वर्ष २५ लाख रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए ।

बाँकी बजेट माग गरी आगामी वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख उपाध्यायले बताए । मन्दिर आउने भक्तजनका लागि कालीगण्डकीको पवित्र जल र स्नानका लागि नौधारा बनाउन आयोजना वरदानसिद्ध हुने देखिएको छ । मन्दिर परिसरमै कालीगण्डकीको पानीले स्नान गर्ने व्यवस्था भएपछि भक्तजनको आकर्षण झन् बढ्ने मन्दिर गुठी समितिको विश्वास छ । (सौस)

प्रतिक्रिया