काभ्रे कांग्रेसमा चुनाबी रन्को

काभ्रे, १२ माघ । नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिएसँगै काभ्रे कांग्रेसभित्र नेतृत्वका लागि आकांक्षीहरू बीच रस्साकस्सी चल्न थालेको छ । वर्तमान सभापति शिवप्रसाद हुमागार्इंले पुनः नेतृत्वको दाबी गर्न नपाउने भएपछि खाली भएको मैदानमा आकांक्षी नेताहरू खेलाडीका रूपमा प्रस्तुत हुन थालेका छन् । मुख्य रूपमा जिल्ला सभापति र क्षेत्रीय सभापतिको लागि नेताहरूको दौडधुप बढ्न थालेको छ ।

१५ माघमा कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन सम्पन्न हुँदै छ । क्षेत्रीय अधिवेशन २२ माघ र जिल्ला अधिवेशन २५ माघमा सम्पन्न हुँदै छ । कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन १६ माघमा हुनेछ । महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृतका रूपमा खटाएको राजेश्वर अधिकारी काभ्रे आएर काम सुरु गरिसकेका छन् ।

थुप्रै समीक्षकले काभ्रे कांग्रेसमा संस्थापन पक्ष बलियो मानेका छन् । कांग्रेसभित्र संस्थापन र देउवापक्ष दुई गुटवीच नेतृत्वको विषयलाई लिएर सधँै विवाद भइरहने गरेको छ । जिल्ला नेतृत्वको लागि वर्तमान सभापति हुमागार्इंको विकल्पका रूपमा नेता चयन गर्न हम्यहम्य भएको बेला मधु आचार्य, अच्युत पौडेल, शंखवुद्ध लामा र कुमार लामिछानेको नाम चर्चामा आएको छ । देउवा पक्षबाट तीर्थ पसखलको नाम चर्चामा छ । आन्तरिक गुटबन्दी र पार्टी भित्रैको असहयोगका बाबजुद कम्युनिस्टहरूको प्रभाव क्षेत्र मानिने काभे्रमा कांग्रेसलाई बलियो बनाइराख्न वर्तमान सभापति हुमागार्इंको भूमिका महत्वपूर्ण रहेको उनका सहयोगीहरू बताउँछन् । उनकै सहयोगविना चुनाव जित्न गा¥हो हुने भएकोले आकांक्षी उम्मेदवारहरूले हुमागार्इंको सहयोग खोजिरहेका छन् ।

सभापति हुमागार्इंले भने आगामी नेतृत्वको लागि कसलाई सहयोग गर्ने भन्ने बारेमा अहिलेसम्म मौन छन् । मधु आचार्यले भने क्षत्रीय अधिवेशनपछि मात्र निर्णय गर्ने भन्दै अहिले कार्यकर्ताहरूबाट आएको सुझाव लिने काम गरिरहेका छन् । निरन्तर १८ वर्षसम्म क्षत्रीय सभापति भइ अहिले जिल्ला कार्यसमितिको सचिव रहेका पौडेल र लामा दुवै सभापतिका बलिया दाबेदार हुन् । साथै क्षेत्र नं २ का वर्तमान सभापति रमेश हुमागाईंलाई जिल्ला नेतृत्वमा स्थापित गर्ने बारेमा पनि भित्र रणनीति बनिरहेको स्रोतको दाबी छ ।

अहिलेको चुनावी सरगर्मी र आकांक्षी नेताहरूको कुरा सुन्दा जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार दुईभन्दा बढी हुने सम्भावना पनि उत्तिकै रहेको छ । कांग्रेसको विधान अनुसार दुईभन्दा बढी उम्मेदवार भए सभापतिमा कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउने विजयी हुन्छ । पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार बीच प्रतिस्पर्धा गराइन्छ । दोस्रो पटकमा भने कुल खसेको मतको साधारण बहुमत ल्याउने उम्मेदवार विजयी हुन्छ ।

क्षत्रीय सभापतिमा भने पुरानैले दाबी गरे पनि क्षेत्र नं १ र ३ मा भने परिवर्तन पनि हुन सक्ने श्रोत बताउँछ । क्षेत्र नं १ मा तीर्थ लामाको विकल्पमा दिनेश लामा, सञ्जिप लामा र दिनेश मोक्तान अघि बढ्ेका छन् । तीर्थ लामा देउवा पक्षको भएकोले संस्थापन पक्षबाट अघि बढेका तीन मध्ये जिल्ला सभापति हुमागार्इंले कसलाई सहयोग गर्ने भनेर मुख खोलेका छैनन् । यता क्षेत्र नं २ मा वर्तमान लोकप्रिय सभापति रमेश हुमागार्इंलाई बलियो मानिएको छ । क्षेत्र नं २ मा राजेन्द्र कर्माचार्य र इन्द्र खड्काको नाम पनि चर्चामा छ ।

क्षेत्र नं ३ मा कञ्चनको विकल्पमा प्रकाश थापालाई क्षेत्रीय सभापति बनाउने रणनीति बने पनि थापाको इच्छा सार्वजनिक नभएको स्रोतको दाबी छ । जिल्ला सभापति हुमागार्इं र महामन्त्री प्रकाशमान सिंह निकट मानिने कञ्चनवादे श्रेष्ठ प्रति रुष्ट बन्दै हालै सम्पन्न क्षेत्रीय समितिको बैठकमा बादेको चर्को आलोचना भएको थियो । उनलाई सभापति हुमागाईं र महामन्त्री सिंहको सहयोगको कारण उचाइ हासिल गरेको आरोप लाग्ने गरेको छ । क्षेत्र नं ३ मा प्रकाश थापाबाहेक माधव ढकाल र कमल लामाको पनि चर्चा छ ।

जिल्ला सभापति हुमागाईंले भने ढकाल र लामा मध्ये एकलाई सहयोग गर्ने अनुमान धेरैको छ । प्रकाश थापाप्रति सहानुभूति राखे पनि जिल्ला सभापति हुमागार्इंले उनी आफ्नो गुटमा अडी रहनेमा सशंकित रहेको एक जिल्ला कार्यसमिति सदस्यले बताएका छन् ।

क्षेत्र नं ४ मा सुन्दरमणी आचार्यले नै पुनः सभापतिमा दाबी गर्ने बताएका छन् । क्षत्रीय सभापतिका लागि आचार्यलाई सभापति हुमागार्इंको पूर्ण समर्थन रहेको छ । यो क्षेत्रमा विमल ब्याञ्जु र देउवा पक्षका महेश खरेलले पनि इच्छा देखाए पनि उनीहरूको सम्भावना कम रहेको कांग्रेसी राजनीतिलाई नजिकबाट नियालिरहेका बताउँछन् ।

जिल्लामा लामो समयदेखि शिव हुमागार्इं र मधु आचार्यबीच तिक्तता रहेको कारणले पनि कांग्रेसलाई अझ बलियो बनाउन कठिन भएको सन्दर्भमा यो अधिवेशनमा हुमागार्इं र आचार्य मिलेर जिल्ला नेतृत्वमा छुट्टै उम्मेदवारलाई सहयोग गरी स्थापित गर्ने सम्भावना पनि उत्तिकै छ । जिल्ला नेतृत्वमा प्रभाव जमाइरहेका शिव हुमागाईंले चुनाव लड्न नपाउने भए सँगै सबै आकांक्षी उम्मेदवारले उनको सहयोग खोजेका छन् । महाधिवेशन प्रतिनिधि रहेका प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले पनि जिल्ला सचिवको भूमिका खोजिरहेको स्रोतको दाबी छ ।

नगरमा को को उठ्दै छन् ?

काभ्रेको ५ नगरपालिकामध्ये बनेपा कांङग्रेसको भोट बैंक मानिँदै आएको छ । यहाँबाट सभापतिका लागि राम जोशी र शान्तिरत्न शाक्यको नाम चर्चामा रहेको छ । यता पनौति नगरपालिकामा पनि अधिवेशनको चहलपहल बढेको छ । केदारबहादुर भण्डारी र राजेश श्रेष्ठको नाम सँगै भोला थापा, रामशरण भण्डारी सुरेश सैँजुको नाम पनि उत्तिकै चर्चामा छ । धुलिखेल नगरपालिकामा भने बद्री हुमागार्इं, रविन्द्र कर्माचार्य, इन्द्रलाल चोच्छे, जितकृष्ण घिनाञ्जूको नाम चर्चामा छ । दाप्चा काशीखण्ड नगरपालिकामा भने काभ्रे कांग्रेसका पुराना नेता कुन्साङ लामा र ईन्द्र दाहालको चर्चा छ । पछिल्लो समय कुन्साङ संस्थापन र ईन्द्र दाहाल देउवापक्षबाट दाबेदार रहेका छन् । त्यसैगरी पाँचखाल नगरपालिकामा नन्दु दुलाल, गणेश अधिकारी, बद्री लुर्इंटेल, अर्जुन सापकोटा, हेम लामालगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया