जबर्जस्ती करणी भएको ११ दिनपछि मुद्दा दर्ता

पाँचथर, ४ माघ । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको ११ दिनपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीपछि जिल्ला अदालतमा आइतबार जबर्जस्ती करणी अभियोग लागेकाहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

पीडित बालिकाकी आमाले जबर्जस्ती करणी गरेको अभियोगमा मोरङ सिबुका हेमराज अधिकारी, बालिकालाई खेताला बोलाउने घरधनी पञ्चमीका नरबहादुर योङ्हाङ, बारम्बार गएर खेताला आउनु भनेर बोलाएर लाने योङ्हाङका छोराद्वय विक्रम र विजयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको हो । पुस २३ गते योङ्हाङकामा खेताला जाँदा ९ बजेदेखि बेलुकी ७ बजेसम्म बन्धक बनाएको र हेमराज अधिकारीले जबर्जस्ती करणी गरेको आमाले बताएकी छिन् । घटनाका मुख्य योजनाकारको अभियोगमा खेताला बोलाउने घरका धनी नरबहादुर योङ्हाङलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

तर घटनालाई मिलाउन जिल्लास्थित केही राजनीतिक दलका नेताहरूले प्रयासमा थिए । धेरैजसो बलात्कारका घटना समाजमा गुपचुप हुने गरेको छ । यतिमात्रै होइन, न्याय खोज्दै प्रहरीको ढोकामा आउनेहरूलाई पनि पैसाको प्रलोभनमा पारी बलात्कारका घटना मिलाउने प्रयाससमेत गरिन्छ ।

प्रतिक्रिया